बी १० बुकिङ गरेकाले चाँडै डेलिभरी पाउने, कोरलाबाट भित्रिन थाल्यो

काठमाडौं । लीपमोटर बी १० एसयूभी कोरला नाका हुँदै नेपाल भित्रिन थालेको छ । नेपालका लागि लीपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले रसुवागढी नाका बन्द भएसँगै विकल्पमा कोरलाबाट ल्याउन थालेको हो ।

कम्पनीका अनुसार बाढीका कारण रसुवागढी नाका बन्द भएकाले गहकलाई समयमै गाडी डेलिभरी दिन कोरला नाकाबाट बी १० भित्र्याउन सुरु गरिएको छ ।

साथै, ढुवानी तथा भन्सार जाँचपासको प्रक्रियालाई तीव्र बनाइएको कम्पनीले जनाएको छ । यससँगै ग्राहकहरूले तोकिएकै समयमा गाडी डेलिभरी पाउने सुनिश्चित भएको कम्पनीको भनाइ छ ।

कम्पनीले नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा राम्रो संख्यामा लीपमोटर बी १० बुकिङ लिएको छ । कोरलाबाट गाडी आउन थालेकाले चाँडै डेलिभरी सुरु गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले बजेट भाषणपछि लीपमोटर बी १० मूल्य घटाएर ५४ लाख ९९ हजार रुपैयाँमा झारेको छ । मूल्य घटेसँगै उपभोक्ताको आकर्षण देखिएको छ ।

लीपमोटर बी १० मा १६० किलोवाटको शक्तिशाली रियर ह्वील ड्राइभ मोटर छ । यसमा ६७.१ किलोवाट आवरको ब्याट्री प्याक छ । जसले एकपटकको फुलचार्जमा ६०० किलोमिटरसम्म रेन्ज दिन्छ ।

आरामदायी र व्यावहारिक प्रयोगका लागि निर्मित यस गाडीमा १८० मिमीको ग्राउण्ड क्लियरेन्स रहेको छ । साथै, १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी, रेकर्डिङ सुविधासहितको ३६०-डिग्री क्यामेरा, हिटर र भेन्टिलेसन सुविधासहितको प्रिमियम लेदरेट सिट छ । यसमा सेगमेन्टमै सनसेडसहितको सबैभन्दा ठूलो प्यानोरामिक सनरूफ जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन् ।


Back_to_top