‘क्र्यास टेस्ट’मा ३ चिनियाँ ह्याचब्याकले पाए ५ स्टार रेटिङ, कुन कुन आउँछ नेपाल ?

काठमाडौं । चीनका ३ ह्याचव्याक कारले युरो एनक्यापमा ५ स्टार रेटिङ पाएका हुन् । चिनियाँ ब्राण्ड जीएसीको आयोन युटी, लिपमोटर बी-०५ र जिलीको ई-२ ले युरोपमा भएको क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाउन सफल भएको हो ।

युरोपियन न्यू कार एसेसमेन्ट प्रोग्राम (युरो एनक्याप) ले सार्वजनिक गरेको पछिल्लो क्र्यास टेस्ट रिपोर्टपछि यी सबैलाई युरोपियन बजारमा बिक्रीको लागि ढोका खुलेको हो ।

हिजो सेप्टेम्बर ३ मा सार्वजनिक २०२६ को नयाँ परीक्षण रिपोर्ट अनुसार यूटी, जिली ई-२ र लिपमोटर बी-०५ ले निकै राम्रो स्कोर पाएका छन् ।

आयोन यूटीले सुरक्षित ड्राइभिङमा ६६ प्रतिशत, दुर्घटना रोकथाममा ७४ प्रतिशत, दुर्घटना सुरक्षामा ९१ प्रतिशत र दुर्घटनापछिको सुरक्षामा ८८ प्रतिशत अंक प्राप्त गरेको छ ।

जिली ई२ ले ड्राइभिङमा ७९ अंक, दुर्घटना रोकथाममा ७२ आंक, दुर्घटना सुरक्षामा ८६ र दुर्घटनापछिको सुरक्षामा ९५ प्रतिशत अंक पाएको थियो । लिपमोटर बी-०५ ले भने क्रमशः ६६, ७७, ९२ र ८९ प्रतिशत अंक हासिल गरेको थियो ।

यी तीन मध्ये लिपमोटर बी-०५ क्र्यास टेस्टमा सबैभन्दा अब्बल देखियो । यसले साइड ब्यारियर र साइड पोल इम्प्याक्ट परीक्षणमा पूर्ण अंक प्राप्त गरेको युरो एनक्यापले जनाएको छ ।

युरो एनक्यापका अनुसार चिनियाँ उत्पादनका कारले अहिले युरोपियन युनियनको कुल नयाँ कार बिक्रीमा ७ प्रतिशत हाराहारी बजार लिएका छन् । बेलायतमा भने झन्डै १० प्रतिशत हिस्सा पुगेको छ ।

युरो एनक्यापका कार्यक्रम निर्देशक डा. एलेड विलियम्सले चिनियाँ कार निर्माता कम्पनीहरूले युरोपेली ग्राहकको अपेक्षा अनुसारको उच्च सुरक्षा मापदण्ड पूरा गर्दै गएको पछिल्लो क्र्यास टेस्टको नतिजाले प्रमाणित गरेको बताए ।

लिपमोटरको बी-०५ र आयोन युटी दुबै छिट्टै नेपाल आउने मोडल हुन् । जिलीको ई-२ नेपाली बजारमा प्रोटोनको ब्याचमा इमास फाइभ नामबाट बिक्री हुँदै आएको छ ।


Back_to_top