एकपटक चार्ज गर्दा ३२० किलोमिटर चल्ने इलेक्ट्रीक सुपरबाइक सार्वजनिक

विश्वभर इलेक्ट्रीक सवारी प्राथमिकतामा रहेका छन् । समान्य कार तथा मोटरसाइकल त इलेक्ट्रीक भर्सनमा आउन थालेको धेरै भइसक्यो । तर अब इलेक्ट्रीक सुपरबाइक समेत आएको छ ।

अमेरिकाको लाइटनिङ मोटरसाइकल कम्पनीले इलेक्ट्रीक सुपरबाइक बनाएको हो । यो इलेक्ट्रीक बाइकको डिजाइन प्रिमियम छ, जुन अत्याधुनिक प्रविधिमा आधारित छ । यो बाइकको राइडिङ पोजिसन स्पोर्टी रहेको छ ।

लाइटनिङको उक्त मोटरसाइकल दुई भर्सन स्ट्यान्डर्ड र कार्बनमा उपलब्ध छ । स्टाइक सुपरबाइकमा लिक्विड–कुल्ड एसी इन्डक्सन मोटर लगाइएको छ । स्ट्यान्डर्ड भर्सनमा यो मोटरले ९० एचपी पावर र २४४ एनएम टर्क दिन्छ भने कार्बन इडिसनमा उक्त मोटरले १२० एचपी पावर र २४४ एनएम टर्क दिन्छ ।

यो सुपरबाइकको स्ट्यान्डर्ड भर्सनको टप स्पीड २१७ किलोमिटर प्रतिघण्टा र कार्बन भर्सन २४१ किलोमिटर प्रतिघण्टा कुद्ने दाबी कम्पनीले गरेको छ । लाइटनिङले यी सुपरबाइकमा तीन व्याट्रि अप्सन १० केडब्लूएच, १५ केडब्लूएच र २० केडब्लूएच दिएको छ । १० केडब्लूएच व्याट्रिले फुल चार्जमा ११३ देखि १६१ किलोमिटर, १५ केडब्लूएचले फुल चार्जमा १६९ देखि २४१ र २० केडब्लूएच व्याट्रिले फुल चार्जमा २४१ देखि ३२२ किलोमिटरसम्म माइलेज दिन दाबी कम्पनीको छ ।

यो इलेक्ट्रीक सुपरबाइक ११० भोल्टमै चार्ज गर्न सकिने छ । जुन ८ घण्टामा फुल चार्ज हुन्छ । तर डीसी फास्ट चार्जबाट चार्ज गर्दा २० मिनेटमै १२० किलोमिटर दूरि तय गर्न सक्छ ।

लाइटनिङ मोटरसाइकलका अनुसार स्ट्यान्डर्ड इलेक्ट्रीक सुपरबाइकको मूल्य १२ हजार ९९८ अमेरिकी डलर (करिब १४ लाख रुपैयाँ) र कार्बन भर्सनको मूल्य १९ हजार ९९८ डलर (करिब २२ लाख रुपैयाँ) तोकिएको छ ।

हाल कम्पनीले यो मोटरसाइकल अमेरिकामा मात्र बिक्री हुने जनाएको छ । यो वर्षको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा समेत उपलब्ध गराउने योजना बनाएको छ ।


Back_to_top