काठमाडौं । चांगान लुमिन मिनी ईभी काठमाडौं आइपुगेको छ । लुमिन ईभीलाई एमएडब्लू वृद्धि मोटोकर्पले नेपाल ल्याएको हो ।
कम्पनीले यसअघि नै यसको अधिकतम खुद्रा बिक्री मूल्य २१ लाख ९९ हजार रुपैयाँ प्रकाशित गरेको थियो । भन्सार प्रयोजनको लागि प्रकाशित भएको मूल्यभन्दा पनि सस्तोमा बिक्री हुने अनुमान चलिरहेको छ । यसको आधिकारीक बिक्री भने आगामी भदौ ११ गतेदेखि आयोजना हुने नाडा अटो शो २०२४ बाट हुनेछ ।
चांगान लुमिन मिनी ईभीमा ३५ किलोवाटको मोटर तथा २८.०८ र १७.६५ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक छ । यसको टप भेरियन्टले एक पटकको फुलचार्जमा ३०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

लुमिनको राम्रो पक्ष भनेको यसको डीसी फास्ट चार्जर हो । यसलाई डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ ।
‘इपीए जीरो प्योर इलेक्ट्रीक प्लेटफर्म’मा बनेको लुमिन दुई ढोका भएको ४ जनाले आरामदायी यात्रा गर्न मिल्ने विद्युतीय कार हो । यसको लम्बाइ ३२७० एमएम, चौडाइ १७०० एमएम र उचाइ १५४५ एमएम छ ।
यसको चौडाइ अन्य मिनी कारको तुलनामा धेरै भएको कारण यात्रुले निकै आरामदायी यात्रा गर्न पाउने छन् । यसमा १९८० एमएम लामो ह्वीलबेस रहेको छ ।
निकै आकर्षक इन्टेरियर रहेको लुमिन ईभीमा थ्री स्पोक स्टेरिङ ह्वील, १०.२५ इन्चको फ्लोटिङ टचस्क्रीन, रिभर्स क्यामरा, मोबाइल फोन इन्टरकनेक्सन, भोइस कन्ट्रोल जस्ता हाइटेक फिचर पाउन सकिन्छ ।

