काठमाडौं । निसान मोटर्सको सफल सव फोर मिटर एसयूभी म्याग्नाइटको बुकिङ १ लाख यूनिट कटेको छ । कम्पनीले यस बीचमा ५० हजार म्याग्नाइट ग्राहकलाई हस्तान्त्रण समेत गरिसकेको छ ।
आफ्नो ५० हजार सन्तुष्ट ग्राहक पुगेसँगै कम्पनीले म्याग्नाइटको नयाँ एडिसन जुलाई १८ तारिखमा सार्वजनिक हुन लागेकाे हो । निसानले नयाँ भेरियन्टको रुपमा ‘म्याग्नाइट रेड एडिसन’ ल्याउने छ । म्याग्नाइटको माथिल्लो भेरियन्ट एक्सभीमा आधारित म्याग्नाइट रेड म्यानुअल भेरियन्ट, टर्बो इन्जिन र टर्बो सीभीटी गियरबक्स गरी तीनवटा भेरियन्टमा उपलब्ध रहने छ ।
म्याग्नाइट रेड एडिसनलाई पृथक देखाउन कम्पनीले कारको धेरै स्थानमा रेड हाइलाइटको प्रयोग गरेको छ । यसमा १६ इन्चको ड्यूल टोन डायमण्डकट अलोय ह्वील रहेको छ । यो कारको साइड क्लाइडिङमा सिल्भर र रेड कलर प्रयोग भएको छ ।
म्याग्नाइट रेड एडिसनको रियर सिटमा कपहोल्डर सहितको आर्मरेष्ट पाउन सकिन्छ । साथै, पछाडिको सिट पनि अब ६०ः४० मा स्प्लीट गर्न सकिन्छ । कारमा नयाँ वायरलेस चार्जर र एम्बियन्ट मुड लाइट पनि थप भएको छ ।
ड्यासबोर्डमा वाइफाई कनेक्टीभीटी सहितको ८ इन्चको टचस्कृन डिस्प्ले, ७ इन्चको फुल्ली टिएफटी इन्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरले यसको क्यावीनलाई निकै प्रिमियम बनाएको छ । नेपालमा पनि निसान म्याग्नाइट निकै सफल मोडल बनिसकेको छ ।

