काठमाडौं । भारतीय एसयूभी एक्सपर्टको नामले चिनिने महिन्द्राले एसयूभी बिक्रीमा ठूलो छलाङ लगाएको छ । दुई वर्ष अगाडिसम्म भारतमा मासिक १७/१८ हजार युनिट गाडी बिक्री गर्ने महिन्द्रा अहिले औषत मासिक ५० हजार युनिट गाडी बिक्री गर्ने कम्पनी बनेको हो ।
महिन्द्राले गत अप्रिल महिनामा ५२ हजार ३३० युनिट गाडी भारतमा बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ । कम्पनीको बिक्रीमा सबै एसयूभी मात्रै हो । महिन्द्राले अप्रिल महिनमा ३ हजार ३८१ युनिट निर्यात पनि गर्न सफल भएको छ ।
बढ्दो एसयूभी क्रेजलाई ध्यानमा राखेर महिन्द्राले आफ्ना उत्पादन भारतमा बिक्री गर्दै आएको छ । स्कर्पियो क्लासिक, स्कर्पियो एन, थार, एक्सयूभी ७००, एक्सयूभी ४००, एक्सईभी-९ई, बीई-६, बोलेरो जस्ता मोडल बिक्री गर्दै आएको छ ।
पछिल्ला महिनाहरुको स्थानिय बजारको बिक्री अनुसार महिन्द्राले प्रस्ट दोस्रो स्थान पाउन सफल भएको छ । भारतको दोस्रो ठूलो कार निर्माता हुन्डाईको निर्यातमा ठूलो संख्या र भारतमा औषत ५० हजार हाराहारी मासिक बिक्री रहेको छ ।
नेपाल आउँदै दुई ईभी
महिन्द्राका दुई इलेक्ट्रीक एसयूभी नेपाल आउने भएको छ । महिन्द्राले आफ्नो प्योर इलेक्ट्रीक मोडल एक्सईभी-९ र बीई-६ नेपाल ल्याउने भएको हो ।
महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिका अनुसार नयाँ दुई एसयूभी केही दिनमै नेपाली सडकमा परीक्षण सुरु हुनेछ ।
‘भारतमा बिक्री सुरु भएका दुबै मोडल नेपाल आउँछन् । केही दिनमै त्यसको परीक्षण सुरु गर्दैछौं । सम्भवत बजेट लगत्तै बिक्री सुरु हुन्छ होला’, अग्नी ग्रुप स्रोतले मेरोअटोसँग भन्यो ।
यसअघि अग्नी ग्रुपका चेयरम्यान क्याविनेट श्रेष्ठले पनि बजेट लगत्तै दुई इलेक्ट्रीक एसयूभी बिक्री सुरु गर्ने तयारी भएको जानकारी दिएका थिए ।
नेपालमा विद्युतीय सवारीसाधनको उच्च माग रहेको कारण महिन्द्राले पनि आफ्ना दुबै एसयूभी एक साथ नेपाल ल्याउन लागेका हुन् । नेपाल आउने दुई एसयूभीको डिजाइन फरक भएपनि ब्याट्री, पावर लगायतका टेक्निकल डिटेल लगभग समान छन् ।