बजारमा जम्दै महिन्द्राका ईभी, १ वर्षमै ५० हजारको माइलस्टोन पूरा

काठमाडौं । भारतीय अटोमोबाइल उत्पादक महिन्द्राका विद्युतीय सवारीका ग्राहको उच्च आकर्षण देखिएको छ ।

कम्पनीले बजारमा ल्याएको १ वर्षमै ‘बोर्न इलेक्ट्रीक’ लाइनअपका ईभीको बिक्रीले ५० हजार युनिटको माइलस्टोन पूरा गरेको हो ।

महिन्द्राको ‘इंग्लो’ स्केटबोर्ड आर्किटेक्चरमा आधारित ईभी पोर्टफोलियोमा हाल तीनवटा मोडलहरू एक्सईभी नाइन ई, एक्सईभी नाइन एस र बीई सिक्स रहेका छन् ।

यी मोडलहरूले पहिलो १० महिनामै ४१ हजारको आँकडा पार गरेका थिए । पछिल्लो समय उगादी, गुडी पाडवा र नवरात्रि जस्ता चाडपर्वहरूका कारण महिन्द्राको ईभी बिक्री ह्वात्तै बढेको थियो । कम्पनीले एकै दिन ६०० भन्दा बढी युनिट गाडीहरू डेलिभरी गर्दै रेकर्ड समेत बनाएको थियो ।

यी तीन मोडलमध्ये थ्री रो एक्सईभी नाइन एसले धेरै ग्राहक तानेको छ । फेब्रुअरी २०२६ मा यो सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रीक गाडी समेत बनेको थियो । कम्पनीले सन् २०२५ को अन्त्यतिर बजारमा ल्याइएको यो एसयूभी ठूला र फराकिलो गाडी खोज्ने परिवारहरूको रोजाइमा परेको छ ।

एक्सईभी नाइन एसमा ५९ किलोवाट आवर, ७० किलोवाट आवर र ७९ किलोवाट आवर गरी तीन ब्याट्री अप्सन उपलब्ध छ । यसको क्याबिन र बुट स्पेस निकै ठूलो छ । भेरियन्ट अनुसार यसले एकपटकको फुल चार्जमा ५०० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीको दाबी छ ।

एक्सईभी नाइन ईले आफ्नो ‘कुपे-एसयूभी’ स्टाइलिङका कारण ग्राहको ध्यान तानेको छ । यो पनि इंग्लो प्लेटफर्ममै आधारित छ । तर यसले पावर र सुविधाहरूमा बढी जोड दिएको छ। ५९ किलोवाट आवर र ७९ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध यो गाडीले उत्कृष्ट गति र राम्रो ड्राइभिङ रेन्ज दिन्छ । यसको इन्टेरियरको मुख्य आकर्षण भनेको ‘ट्रिपल स्क्रिन सेटअप’ र उच्च स्तरको साउण्ड सिस्टम हो। साथै, यसमा सामान राख्नका लागि पछाडि र अगाडि दुवैतिर पर्याप्त ठाउँ दिइएको छ।

एड्भेन्चर ड्राइभिङ अनुभव खोज्नेहरूका लागि बीई सिक्स स्पोर्टी विकल्पको रुपमा प्रस्तुत गरिएको छ । यसले पनि उही प्रविधि र ब्याट्री विकल्पहरू प्रयोग गर्दछ ।


Back_to_top