एकैपटक ३ लाखसम्म बढ्यो बीवाइडीका कारको मूल्य, कुन मोडलमा कति ?

काठमाडौं । नेपाली बजारमा बीवाइडीका कारको मूल्य बढेको छ । बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाइडी एटो वान, एटो टु, एटो थ्री र सिलायन सेभेनको मूल्य बढाएको हो ।

कम्पनीले एउटै मोडलमा एकैपटक ३ लाख रुपैयाँसम्म मूल्य बढाएको छ । कम्पनीले बीवाइडी एटो थ्री (एड्भान्स भेरियन्ट)को मूल्य ३ लाख रुपैयाँ बढाएर ५९ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । यसअघि एटो थ्री एड्भान्स भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ थियो ।

त्यस्तै, कम्पनीले आफ्नो प्रिमियम एसयूभी सिलायन सेभेनको मूल्य २ लाख रुपैयाँ बढाएको छ । यसअघि ७७ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको सिलायन सेभेनको नयाँ मूल्य ७९ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी, कम्पनीले एटो वानको दुवै भेरियन्ट (डायनामिक र प्रिमियम)को मूल्य समान ७५ हजार रुपैयाँ बढाएको छ । कम्पनीका अनुसार एटो वान डायनामिक भेरियन्टको नयाँ मूल्य २९ लाख ७५ हजार र प्रिमियम भेरियन्टको ३३ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले एटो टु को मूल्य १ लाख रुपैयाँ बढाएको छ । यसअघि ४४ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको एटो टुको मूल्य बढेर ४५ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले पछिल्लो डेढ महिनामा एटो टु र सिलायनको मूल्य बढाएको यो दोस्रो पटक हो । यसअघि गत फागुन ५ गतेदेखि लागू हुनेगरी एटो टुमा १ लाख १ हजार र सिलायनको ३ लाख १ हजार रुपैयाँ बढाएको थियो ।

कम्पनीले मूल्य वृद्धिको कारण खुलाएको छैन । तर, नयाँ २०२६ मोडल आएसँगै बढाएको हुन सक्ने आकलन छ । साथै, पछिल्लो समय अमेरिकी डलरको उच्च मूल्य वृद्धिले पनि कारको लागत बढाइरहेको छ ।


Back_to_top