सन् २०२६ को उत्कृष्ट कार घोषणा, कुन-कुन मोडललाई अवार्ड ?

काठमाडौं । सन् २०२६ को लागि वर्ल्ड कार अफ दी इयर अवार्ड घोषणा भएको छ । हरेक वर्ष न्यूर्योक इन्टरनेशनल अटो शोको सुरूवातसँगै प्रदान गरिने डब्लूकोटी अवार्ड बुधबार (अप्रिल १) घोषणा भएको हो ।

यस पटकको वर्ल्ड कार अफ दी इयर (डब्लूकोटी) अवार्डमा चीन, युरोप, इन्डिया, कोरिया, ल्याटिन अमेरिका र युनाइटेड स्टेट (यूएसए)का कार ब्राण्डहरूले भाग लिएका थिए । त्यसमा १ जनवरी २०२५ देखि ३० मार्च, २०२६ सम्म बजारमा आएका कारहरूले प्रतिस्पर्धा गरेका थिए ।

सन् २०२६ को वर्ल्ड कार अफ दी इयर अवार्ड अल न्यू निसान लिफ र हुन्डाई प्यालिसेडलाई पछाडि पार्दै बीएमडब्लू आइएक्स थ्रीले जित्न सफल भयो । साथै, आइएक्स थ्रीले ईभी अफ दी इयरको अवार्ड पनि आफ्नो पोल्टामा पारेको छ ।

नियोको फायरफ्लाइ ह्याचब्याक कारले वर्ल्ड अर्वान कार अफ दी इयरको अवार्ड हात पार्न सफल भयो । यो क्याटगोरीमा हुन्डाई भेन्यू, बाओजुन एप र सेभ्रोलेट स्पार्क थिए ।


लुसिड ग्राभिटीले वर्ल्ड लग्जरी कार अफ दी इयर अवार्ड जित्न सफल भयो । उक्त समूहमा क्याडिलाक भिस्टिक र भोल्भो ईएस ९० मोडल प्रतिस्पर्धामा थियो ।

पर्फमेन्स कार अफ दी इयरको अवार्ड हुन्डाई आयोनिक सिक्स एनले पायो । पर्फमेन्समा आधारित आयोनिक सिक्स एनसँग प्रतिस्पर्धामा बीएमडब्लू एम टु र सेभ्रोलेट कार्भेट ई–रे मोडल थियो ।

सबैभन्दा प्रतिष्ठित मानिने कार पर्सन अफ दी इयर अवार्ड बीएमडब्लू ग्रुपका चेयरम्यान ओलिभर जिप्सेले प्राप्त गरे । उनीसँग प्रतिस्पर्धामा जनरल मोटर्सका डेभिड क्रेग र स्लेट अटोका टिशा जोनसन थिए ।

जुरी मेम्बरका रूपमा विश्वका ९८ अटोमोबाइल क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरूको सहभागिता थियो ।


Back_to_top