काठमाडौं । चीनमा सन् २०२६ को पहिलो दुई महिना न्यू इनर्जी भेहिकल बिक्रीमा निरन्तर गिरावाट आए पनि मार्चमा भने सुधार देखिएको छ ।
चीनमा सरकारले कटौती गरेको अनुदान रकम र नयाँ वर्षको छुट्टी भएको कारण न्यू इनर्जी भेहिकलको बिक्रीमा गिरावट आएको थियो । तर, खाडीमा चर्किएको द्धन्द्ध र बढ्दो पेट्रोलियम पदार्थको मूल्यसँगै न्यू इनर्जी भेहिकलको बिक्रीमा वृद्धि देखिएको हो ।
चीनमा दर्जनौं ब्राण्डले ईभी उत्पादन र बिक्री गर्दै आएका छन् । त्यसमध्ये चल्तीमा रहेका ब्राण्ड र चल्तीका स्टार्टअप कम्पनीहरूको बिक्रीले ईभीको बजार थप चलायमान हुन थालेको देखिन्छ ।
चिनियाँ स्टार्टअप कम्पनीहरू नियो, लीपमोटर, एलआई अटो, एक्सपेङ, साओमी जस्ता ब्राण्डले आफ्नो बिक्री अघिल्ला दुई महिनाको तुलनामा सुधार गरेका छन् ।
चीनकै ठूलो मध्येको एक कार निर्माता कम्पनी बीवाइडीले आफ्नो बिक्रीमा ठूलो सुधार ल्याएको छ । कम्पनीले मार्चमा ३ लाख २२२ युनिट कार बिक्री गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ९० हजार युनिटभन्दा धेरै हो ।
बीवाइडीलाई पछ्याइरहेको जिलीले पनि अघिल्लो महिनाकै हाराहारी बिक्री भेट्टाएको छ । कम्पनीले मार्चमा २ लाख ३३ हजार ३१ युनिट कार बिक्री गरेको हो ।
यी दुई कम्पनी बाहेक स्टार्टअप कम्पनीमा लीपमोटर निकै अगाडि देखिएको छ । लीपमोटरले ५० हजार २९ युनिट बिक्री गर्दा एल आई अटोले ४१ हजार ५३ युनिट कार बेच्न सफल भएको हो ।
त्यसैगरी, नियोले ३५ हजार ४८६ युनिट कार बिक्री गर्दा एक्सपेङले २७ हजार ४१५ युनिट कार बेचेको छ । चर्चित ब्राण्ड साओमीले पनि २० हजार ४१४ युनिट कार बेच्दै बिक्रीमा सुधार ल्याइरहेको छ ।

