काठमाडौं । महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले स्कर्पियो एन, स्कर्पियो क्लासिक र एक्सयूभी ४०० इलेक्ट्री नेपाल ल्याउने भएको छ । कम्पनीले ईभी र पेट्रोलियम पदार्थबाट चल्ने दुबैलाई उच्च प्राथमिकतामा राखेर बजार बिस्तारको योजना बनाएको हो ।
महिन्द्राले पछिल्ला ५ महिनामा दुई नयाँ मोडल नेपालमा बिक्री सुरु गरिसकेको छ । कम्पनीले आफ्नो सबैभन्दा प्रिमियम मोडल एक्सयूभी ७०० र चल्तीको सेग्मेन्टमा एक्सयूभी ३०० स्पोर्टस् नेपाल ल्याएको हो । यी दुई मोडल नेपालमा बिक्री सुरु गरेसँगै कम्पनीले आफ्नो शोरुम अपग्रेड र नयाँ सर्भिस सेन्टर बिस्तार तिब्रताका साथ अगाडि बढाएको छ ।
यसअघि महिन्द्राको एसयूभीमा रहेको पुरानो लोगो हटाएर सबै प्यासेन्जर मोडलमा ‘ट्वीन पीक’ लोगो लगाएको छ । नयाँ लोगोको ब्राण्डिङ नेपालमा पनि सुरु गरिसकेको कम्पनीले अब बिस्तार हुने शोरुम र सर्भिस सेन्टर ट्वीन पीक थिममा नै तयार गर्ने जनाएको छ ।
‘अहिले हामीसँग देशभर निकै ठूलो सर्भिस र बिक्री नेटवर्क छ । तर, अब प्यासेन्जर सेग्मेन्टको लागि मात्रै डेडिकेटेट सेल्स र सर्भिस नेटवर्क बनाइ रहेका छौं’, अग्नी इनकर्पोरेट प्रालिलका जनरल मेनेजर बरदान बस्नेतले मेरोअटोसँग भने ।

उनका अनुसार कम्पनीले देशका मुख्य मुख्य सहरमा नयाँ शोरुम र सर्भिस सेन्टर संचालनमा ल्याउने छ । अब महिन्द्रा पीकअपमा मात्रै होइन एसयूभी सेग्मेन्टलाई नेतृत्व गर्न सक्षम बनिसकेको छ ।
कहिले आउँछन् नयाँ मोडल ?
कम्पनीले स्कर्पियो एन र एक्सयूभी ४०० ईभी ल्याउने तयारी लगभग पुरा गरिसकेको छ । यहाँ नेटवर्क विस्तार चलिरहेको र एक्सयूभी ७०० र एक्सयूभी ३०० सबै सहरमा बिक्री सुरु गर्ने काम भइरहेको कारण तत्काल नयाँ मोडल नेपाल नआइपुगेको अनुमान गर्न सकिन्छ ।

अहिले बजारमा गाडीको माग पनि खासै राम्रो नभइरहेको समयमा भदौ २६ गतेबाट हुने भनिएको ‘नाडा अटो शो २०२३’मा विद्युतीय मोडल एक्सयूभी ४०० र पेट्रोलियम एसयूभी स्कर्पियो एन बजारमा ल्याउने तयारी भइरहेको छ ।
कम्पनीले नेपाली बटोमा एक्सयूभी ४०० को लामै परिक्षण गर्ने योजना बनाएको कारण यो मोडल भने चाँडै नेपाल आउने अपेक्षा गर्न सकिन्छ ।

नाडा अटो शोपछि कम्पनीले स्कर्पियो क्लासिक ल्याउने छ । अहिले बिक्री हुँदै आएको स्कर्पियोमा केही फिचर थप भएर आउने क्लासिक मोडलमा इन्जिन पनि ठूलोमा आउने छ । अहिले २.० लिटर इन्जिनमा उपलब्ध स्कर्पियो क्लासिक २.२ लिटर इन्जिनमा आउने छ ।

