गोल्छा ग्रुप र इन्डियन आयलले मिलेर नेपालमा लुब्रिकेन्ट उद्योग खोल्ने

काठमाडौं । गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानीमा सर्भो लुब्रिकेन्ट नेपालमै उत्पादन गर्ने भएको छ । त्यसको लागि दुबै कम्पनी मिलेर अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौता भएको हो ।

उक्त ल्युब ब्लेन्डिङ प्लान्ट सन् २०२४ को अन्त्यसम्ममा तयार हुने कम्पनीले लक्ष्य लिएको छ । यसको लागि दुवै कम्पनीले ५०/५० प्रतिशत लगानी गर्ने सम्झौतामा उल्लेख छ । यस संयुक्त लगानीको पहिलो चरण अन्तर्गत अधिकारिक पूँजी लगानी लगभग ६० करोड बराबर बताइएको छ ।

आरम्भिक उद्योग स्थापना मात्र नभई यस संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकताहरू पूरा गर्न भविष्यमा विस्तार, रणनीतिक साझेदारी र उत्पादन लाइनहरूको विविधिकरणको परिकल्पना गरेको छ ।

सम्झौँतापछि बोल्दै गोल्छा ग्रुपका म्यानेजिङ डाइरेक्टर एवम् चेयरम्यान शेखर गोल्छाले भने, ‘भारतकै सबैभन्दा ठूलो कम्पनी इन्डियन आयलसँगको हाम्रो लामो सहयात्राको शुभारम्भ भएको छ । यो पहिलो खुड्किला हो र भविष्यमा अन्य थप उद्योग स्थापना गर्ने बृहत योजना छ । यो सहकार्यले नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुंगा थपेको छ । हामी यो साझेदारी र यसले नेपालको औद्योगिक क्षत्रमा ल्याउने परिवर्तनलाई लिएर अत्यन्तै उत्साहित छौं ।’


Back_to_top