काठमाडौं । महिन्द्राको लाइफ स्टाइल प्रोडक्ट थार एसयूभी निर्यातको लागि फरक डिजाइनमा तयार हुने भएको छ । आफ्नो चर्चित र सफल अफरोड एसयूभी थार भारत बाहेक अन्य कुनैपनि देशमा विक्री गर्न नपाएपछि निर्यातको लागि फरक डिजाइनमा तयार गर्न लागिएको हो ।
महिन्द्राले थार एसयूभी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न नसक्नु मूख्य कारण जीपसँगको डिजाइन ट्रेडमार्कको मुद्दा मुख्य कारण हो ।
महिन्द्रा एण्ड महिन्द्राले अमेरिकी बजारमा सन् २०२० मै रोक्सो (थारको अमेरिकी भर्सन) लन्च गर्ने क्रममा ‘इन्टरनेशनल ट्रेड कमिसन’मा मुद्दा परेको थियो । रोक्सोले जीपको ‘डिजाइन ट्रेडमार्क’ उल्लङ्घन गरेको आरोपमा अमेरिकी अदालतले दोषी ठहर गरेपछि रोक्सो विक्री गर्ने योजना स्थागित गर्नु परेको थियो ।
महिन्द्राले मुद्दा हारेपछि अमेरिकी बजारमा सन् २०२२ मा रोक्सोको डिजाइन परिवर्तन गरेर लन्च गर्न खोजेता पनि एफसीएले दिएन । यो मुद्दा अझै पनि अदालतमा चलिरहेको छ ।
अमेरिकी बजारपछि महिन्द्राले अष्ट्रेलियन बजारमा थारको लन्चिङ प्लान बनाएको थियो । तर, त्यहाँ पनि जीपले मुद्दा हालेको थियो । महिन्द्राले अमेरिकामा जस्तै अष्ट्रेलीयामा पनि थार विक्री गर्न पाएन । जीपले आफ्नो उपस्थिति रहेको जुनसुकै बजारमा थार विरुद्ध मुद्दा हाल्ने भएकाले थार नेपालसमेत नआउने पक्का भएको हो ।
नेपाली बजारमा थारसँग मिल्दोजुल्दो डिजाइन भएको जीप र्याङ्लर विक्री भइरहेको छ । महिन्द्राले चालु मोडल अब कुनै पनि अन्तर्राष्ट्रिय बजारमा विक्री नगर्ने आधिकारीक रुपमा घोषणा समेत गरिसकेको छ ।
आन्तरिक बजारमा अत्याधिक माग रहेको थारलाई अन्तर्राष्ट्रिय बजारको लागि नयाँ डिजाइनमा तयार हुँदै गरेको रिपोर्ट बाहिर आएको छ । हालै मात्र एक कार्यक्रममा महिन्द्रा अटोमोटिभ्सका रिजनल हेड जोयदेव मोयत्राले अन्तर्राष्ट्रिय बाजरका लागि नयाँ डिजाइनको थारको विकास भईरहेको जानकारी दिएका हुन् ।
यस्तो थियो महिन्द्रा र जीपको सम्झौता
सन् १९५० मा महिन्द्राले अमेरिकी आर्मीले प्रयोग गरेको जीपको चर्चित मोडल विलीसको म्यानुफ्याचरिङ अडाप्टेसनको लाइसेन्स पाएको थियो । अहिलेको जेनेरेशनको थार जीप विलीसबाटै परिमार्जन भई विकास भएको मोडल हो ।
उक्त लाइसेन्समा महिन्द्रा र जीपको विलीस मोडलका लागि मात्र सम्झौता भएको बताइन्छ । भविष्यमा विकास हुने मोडलमा जीप र्याङ्लरको जस्तो ग्रिल राख्न नपाउने जीपको दावी रहेको छ । सम्झौता अनुसार अहिलेको थार कुनै पनि अन्तर्राष्ट्रिय बजारमा विक्री गर्न नपाउने तर, भारतको आन्तरिक बजारमा भने विक्री गर्न सकिने लाइसेन्स हो ।

