नेपालमा पाइने सबैभन्दा सस्ता तीन मोटरसाइकल, कुन उत्कृष्ट ?

काठमाडौं । नेपाली बजारमा १ दर्जन बढी ब्राण्डका १०० बढी मोडलका मोटरसाइकल उपलब्ध छन् । बजारमा इन्ट्री लेभल कम्प्युटरदेखि एड्भेन्चर, स्क्रयाम्बलर, क्रुजर, डबल पर्पस, प्रिमियम सेग्मेन्टसम्मका मोटरसाइल छन् ।

मूल्यका आधारमा अढाई लाखदेखि २० लाख रुपैयाँ बढी मूल्यका मोटरसाइकल किन्न पाइन्छ । सेग्मेन्टका आधारमा इन्ट्री लेभल कम्युटर सेग्मेन्टका मोटरसाइकल सबैभन्दा सस्ता छन् । मुख्यगरी १०० सीसी इन्जिन क्षमताका मोटरसाइकल यस सेग्मेन्टमा पर्छन् ।

१०० सीसीका मोटरसाइकलको बिक्री सहरी तथा पहाडी क्षेत्रमा उत्साहजनक देखिँदैन । तर, अझै पनि तराईका जिल्लाहरूमा यी मोटरसाइकलको निकै राम्रो बजार हिस्सा ओगटेका छन् । यी मोटरसाइकलको माइलेज र पिकअप पनि उत्कृष्ट पाइन्छ ।

यी मोटरसाइकलको आयात पनि वर्षेनी बढ्दो क्रममा देखिएको छ । सन् २०२४ को तुलनामा २५ मा १०० सीसी मोटरसाइकलको आयात ४७ प्रतिशतले बढेको छ । सन् २०२४ मा ४ हजार ४०० युनिट मात्रै आयात भएकोमा २०२५ मा बढेर ६ हजार ४७३ युनिट पुगेको छ ।

अहिले १०० सीसी सेग्मेन्टमा बजाज, हिरो, टीभीएस र सुजुकीले मोटरसाइकल आयात गर्दै आएका छन् । यहाँ हामीले नेपाली बजारमा पाइने सबैभन्दा सस्ता अर्थात् साढे २ लाखभन्दा कम मूल्यका तीन मोटरसाइकलको बारेमा चर्चा गरेका छौं ।

१. बजाज प्लाटिना : बजाजले भारतीय बजारमा सबैभन्दा धेरै बिक्री गर्ने प्लाटिना मोडलको नेपाली बजारमा पनि १०० सीमा सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल हो । सन् २०२५ मा आफ्नो सेग्मेन्टमा यसले ४२ प्रतिशत हिस्सा ओगटेको छ ।

नेपालमा बजाज प्लाटिना मोटरसाइकल हंशराज हुलाशचन्द एण्ड कम्पनीले २ लाख १६ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

प्लाटिनामा ९९.५ सीसीको, सिंगल सिलिण्डर, टूभल्भ, एयर कुल्ड इन्जिन छ । यो इन्जिनले अधिकतम ७.९ पीएस पावर र ८.३ एनएमको टर्क जेनेरेट गर्छ । यसले अधिकतम प्रतिलिटर ९७ किमीसम्म माइलेज दिने दाबी गरिएको छ ।

यसको फ्रन्टमा फोर्क र रियरमा एसएनएस सस्पेन्सन सेटअप, ट्युबलेस टायर, अलोय ह्वील, स्पोर्टि ग्राफिक्स डिजाइन, इलेक्ट्रिक स्टार्ट, लामो सिट, स्ट्यान्डर्ड ब्रेकिङ सिस्टम, एलईडी डीआरएल र एड्भान्स कम्फर्ट टेक्नोलोजी जस्ता फिचर पाउन सकिन्छ । प्लाटिना मोटरसाइकल बजाजले नेपालमा नै एसेम्बल गर्दै आइरहेको छ ।

२. टीभीएस रेडन : यो नेपाली बजारमा १०० सीसी सेग्मेन्टमा दोस्रो धेरै बिक्री हुने मोटरसाइकल हो । जगदम्बा मोटर्सले नेपाली बजारमा रेडनको मूल्य २ लाख २९ हजार ९०० रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको छ ।

यो मोटरसाइकल पनि हाल नेपालमै एसेम्बल हुनछ । यसमा ११० सीसी क्षमताको इन्जिन रहेको छ । यसमा दिइएको इन्जिनले अधिकतम ८.३० पीएस पावर र ८.७० एनएमको टर्क जेनेरेट गर्छ । यसले प्रतिलिटर ६९ किमी माइलेज दिने दाबी छ ।

सिंगल क्रेडल ट्युबलर फ्रेममा बनेको रेडनको फ्रन्टमा टेलिस्कोपिक ओयल ड्याम्पर सक अब्जर्बार र रियरमा ५ स्टेप एड्जस्टेवल हाइड्रोलिक सक, एसबीएस ब्रेकिङ सिस्टम, ट्युबलेस टायर, अलोय ह्वील, मल्टि रिफ्लेक्टरका साथै एलइडी डीआरएल, फ्युल ट्याकं प्याड, रिभर्स एलसीडी क्लस्टर, सेग्मेन्ट लार्जेस्ट सिट, चार्जिङ पोर्ट लगायतका फिचरहरू छन् ।

३. हिरो स्प्लेण्डर प्लस

सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने भारतीय कम्पनी हिरो भनेको स्प्लेन्डरको नामले चर्चित बनेको ब्राण्ड हो । यो मोटरसाइकल कुनै समय चढ्ने धेरै मान्छेको सपना जस्तै हुन्थ्यो ।

नेपाली बजारमा पनि वार्षिक १५०० बढी युनिट बिक्री हुँदै आएको छ । सीजी मोटर्सले स्प्लेण्डरको मूल्य २ लाख १७ हजार ९०० रुपैयाँ तोकेको छ ।

यो मोटरसाइकलमा ९७.२ सीसीको, सिंगल सिलिण्डर, फोर स्ट्रोक, ओएचसी इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम ८.३६ पीएस पावर र ८.५ एनएमको टर्क जेनेरेट गर्छ । यसले पनि प्रतिलिटर ९० किमीभन्दा बढीको माइलेज दिने दाबी छ ।

यो मोटरसाइकल ट्युबलर डबल क्रेडल फ्रेममा बनेको हो । यसको फ्रन्टमा हाइड्रोलिक सक अब्जर्बार, रियरमा स्विंगआर्म सहित ५ स्टेप एड्जस्टेवल हाइड्रोलिक सक, ट्युबलेस टायर, इन्टर्नल एक्स्पेन्डिङ सु टाइपको ब्रेकिङ सिस्टम, आइथ्रीएस टेक्नोलोजी, एएचओ हेड्ल्याम्प, अलोय ह्वील, एनालग इन्स्ट्रुमेन्ट क्लस्टर र कन्भेनियन्ट पावर स्टार्ट बटन जस्ता फिचर छन् ।

निष्कर्ष : सबैभन्दा यी सस्ता तीन मोटरसाइकल मध्ये मूल्यका हिसाबले हेर्दा टीभीएस रेडन मोटरसाइकल केही महँगो छ भने प्लाटिना सस्तो छ । माइलेजमा हिरो स्प्लेण्डर र बजाज प्लाटिना अगाडि छन् भने रेडन पछि छ । तीनै मोटरसाइकलमा लगभग उस्तै फिचर रहेकाले तपाईंले आफ्नो आवश्यकता र रोजाइ अनुसार छनोट गर्न सक्नुहुनेछ ।


Back_to_top