महिन्द्रा एक्सयूभी ७०० भारतमा विक्री सुरु, यस्तो छ मूल्य र फिचर

काठमाडौं । महिन्द्राको बहुप्रतिक्षित एसयूभी ‘एक्सयूभी ७००’ सार्वजनिक भएको छ । कम्पनीले भारतमा ११ लाख ९९ हजार सुरुवाती मूल्य निर्धारण गरेर एक्सयूभी ७०० सार्वजनिक गरेको हो ।

५ र ७ सिट क्षमतामा सार्वजनिक भएको एक्सयूभी ७०० निकै पावर फुल इन्जिनको साथ बजारमा आएको हो । कम्पनीले दुई इन्जिन अप्सनमा यसलाई ल्याएको छ । २.२ लिटर टर्बो डिजेल र २.० लिटर टर्बो पेट्रोल इन्जिन मध्ये ग्राहकले एउटा छनोट गर्न सक्ने छन् ।

यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस र डिजेल इन्जिनले १८५ पीएस पावर प्रदान गर्नेछ । डिजेल इन्जिनको टर्क ४५० एनएम छ भने पेट्रोल इन्जिनको ३८० एनएम रहेको छ ।

ग्राहकले पेट्रोलमा ४ र डिजेलमा एउटा मात्रै भेरियन्ट खरिद गर्न सक्ने छन् । पेट्रोलमा एमएक्स, एएक्स ३ र एएक्स ५, एएक्स ७ भेरियन्ट छ भने डिजेलमा एमएक्स भेरियन्ट मात्र उपलब्ध रहेको छ । यसको टप स्पेक एएक्स ५ को मूल्य भारतमा १४ लाख ९९ हजार भारु तोकिएको छ । एएक्स ७ भेरियन्टकाे मूल्य भने सार्वजनिक भएकाे छैन ।

सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ ।

एड्रोनएक्स कनेक्ट सिस्टममा ६० वटाभन्दा धेरै कनेक्ट फिचर उपलब्ध रहेको छ । ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील, सनरुफ पाउन सकिन्छ ।

महिन्द्राको यो एसयूभी नेपाली बजारमा पनि चाँडै उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यसको नेपालमा ६० लाखदेखि ७५ लाख हाराहारीमा मूल्य निर्धारण हुने हाम्रो अनुमान रहेको छ ।


Back_to_top