काठमाडौं । विश्वकै ठूलो कार निर्माता कम्पनी टोयोटाले इलेक्ट्रीक कारमा पनि म्यानुयल गियरबक्स दिने भएको छ । टोयोटाले अमेरिकी बजारमा इभीको लागि म्यानुयल गियरबक्सको प्याटेन्ट दर्ता गरेसँगै यसको चर्चा बढेको हो ।
‘हामी म्यानुयल गाडी चाहने ग्राहकको मागलाई ध्यानमा राखेर विद्युतीय कारमा पनि म्यानुयल गियरबक्स दिन लागेका छौं । यसले चालकलाई कम्बस्चन इन्जिन भएको गाडी चलाएजस्तै अनुभव प्रदान गर्नेछ’, टोयोटा मोटर्सले भनेको छ ।

साथै, टोयोटाले म्यानुयल गियरबक्स अटोमेटीकको तुलनामा सस्तो हुने भएकोले इभीको लागत कम गर्न पनि सहयोगी हुने जनाएको छ । टोयोटाले म्यानुयल गियरबक्स आफ्नो पहिलो फुल इलेक्ट्रीक मोडल ‘बीजेडफोरएक्स’बाटै दिने अनुमान गरिएको छ ।
टोयोटाले विद्युतीय र हाइड्रोजन फ्यूलसेल कार उत्पादनमा निकै आक्रमक रणनीति तयार गरेर काम गरिरहेको छ । केही महिना अघि टोयोटाले १५ नयाँ मोडलको घोषणा गरेको थियो ।


