गुडवाई ८०० सीसी इन्जिन !

काठमाडौं । मारुती सुजुकीले बनाएको ७९६ सीसी क्षमताको इन्जिन सधैँको लागि बन्द गरेको छ । कम्पनीले ४० वर्ष अगाडि भारतमा ल्याएको ०.८ लिटर इन्जिन अब भने सधैँको लागि बन्द भएको हो ।

मारुती सुजुकीले सन् १९८३ मा उत्पादन थालेको यो इन्जिनलाई २०२३ मार्चबाट पूर्णरुपमा बन्द गर्ने घोषणा गरेको हो । अल्टो ८०० मा निकै सफल मानिएको इन्जिन अब सधैँको लागि बन्द हुन लागेको हो ।

अब कम्पनीले सानो इन्जिनको रुपमा १.० लिटर के१०सी पेट्रोल इन्जिनलाई निरन्तरता दिने भएको छ । मारुती सुजुकीले केही महिना अघि बजारमा ल्याएको अल्टो के १० मा पनि यही १.० लिटर इन्जिन दिएको थियो ।

कम्पनीले भारत सरकारले लगाउन लागेको आरडीई (रियल ड्राइभिङ इमिशन) र क्याफे २ इमिसन मापदण्डमा यो इन्जिनलाई अपग्रेड गर्न नचाहेको कारण बन्द गर्न लागेको जनाएको छ ।

मारुती सुजुकीले सुरुमा आएको मारुती ८०० मा दिएको यो इन्जिनले ३९ एपची पावर र ५९ एनएम टर्क प्रदान गथ्र्यो । सन् २००० मा यो इन्जिनलाई थप अपग्रेड गरेर ४८ एचपी पावर र ६९ एनएम टर्क प्रदान गर्न सक्ने बनाइएको थियो ।

इन्ट्री लेभल ह्याचव्याकमा दिइएको यो इन्जिन माइलेजको लागि पनि उत्कृष्ट मानिएको थियो । अहिले पनि यसको माईलेज २४ किलोमिटर रहेको कम्पनीले दावी गर्दै आएको छ । नेपालमा रहेका ट्याक्सीमा बर्चस्व रहेको यो इन्जिनमा अब नयाँ गाडी उपलब्ध हुने छैन ।


Back_to_top