नयाँ इन्जिनमा गाडी बनाउने यस्तो छ, मारुती सुजुकीको तयारी

मारुती सुजुकीले सन् २०२० को सुरुवातबाट बीएस–४ प्रविधिमा आधारित मोडलको उत्पादन बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले नयाँ भारतीय इमिशन मापदन्ड बीएस–६ पूर्णरुपमा कार्यान्वयन भएपछि सोही नीतिबमोजिम बिएस–६मा आधारित रहेर गाडी उत्पादन गर्ने जनाएको हो । 

भारत सरकारले २०१७ मा अप्रिल १, २०२० बाट भारतीय प्रदुषण मापदन्ड बीएस–६ लागू गर्ने घोषणा गरेको थियो । कम्पनीले सोही निर्णयबमोजिम तत्काल उक्त इन्जिनमा आधारित मोडलको उत्पादन नगर्ने भएको हो । 

वर्तमान अवस्थामा पेट्रोलबाट सञ्चालन हुने मोडलमा बीएस–६ मापदन्ड लागू गर्न कुनै अप्ठ्यारो नभएको, तर डिजेल भेहिकललाई परिमार्जन गर्दा निकै समस्या सिर्जना हुने कम्पनीले बताएको छ । साथै, नयाँ मापदन्डअनुसार डिजेल भेरियन्टमा आधारित मोडलको मूल्य २ लाख ५० हजार भारतीय रुपैयाँसम्म महङ्गो पर्न आउने कम्पनीले प्रक्षपण गरेको छ । 

यसैबीच, मारुती सुजुकीले २०२० सम्ममा टोयोटा कम्पनीसँगको सहकार्यमा बीएस–६ मापदन्डमा आधारित पेट्रोल इन्जिन कारको उत्पादन गर्ने योजना बनाएको छ । साथै, कम्पनीले हाइब्रिड प्रणालीमा आधारित कारहरू सार्वजनिक गर्ने र उक्त प्रणालीले अहिलेको तुलनामा ३० प्रतिशत इन्धन खपत कम गर्ने दाबी गरेको छ । 


Back_to_top