क्वीड र सेन्ट्रोलाई टक्कर दिन तयार भयो ‘सेलेरियो’, अर्को हप्ता बजारमा आउने

काठमाडौं । साना ह्याचव्याक कारको बजार घट्दो क्रममा रहेको छ । अहिले साना ह्याचव्याक कारमा सर्वाधिक विक्री हुने रेनो क्वीड र हुन्डाई सेन्ट्रोलाई टक्कर दिन मारुती सुजुकीले नयाँ जेनेरेशन सेलेरियो बजारमा ल्याउँदैछ ।

अर्को हप्ता नोभेम्बर १० तारिखमा भारतबाट विक्री सुरु हुने नयाँ जेनेरेशन सेलेरियो नेपालमा पनि चाँडै आउने बताइएको छ । कुनै समय नेपालमा सर्वाधिक विक्री हुने मारुती सुजुकी सेलेरियो ६ महिना भन्दा बढी समयदेखि नेपालमा उपलब्ध छैन ।

भारतमा पनि कम्पनीले नयाँ जेनेरेशन मोडल ल्याउने भएपछि उत्पादन बन्द भएको सेलेरियो सन् २०१४ देखि निरन्तर सर्वाधिक विक्री हुने ह्याचव्याक मोडलको रुपमा स्थापित भएको थियो । नयाँ जेनेरेशन मोडललाई कम्पनीले थप परिमार्जन गरेर ल्याउन लागेकाले यसले पुनः बजारमा पकड जमाउने मारुती सुजुकीले विस्वास लिएको छ ।

करिब २५ लाखदेखि ३१ लाखसम्म मूल्य कायम भएर नेपाल आउने अनुमान गरिएको सेलेरियोको सिधा प्रतिस्पर्धा मूल्यका हिसावले पनि क्वीड र सेन्ट्रोसँग हुने अनुमान गर्न सकिन्छ ।

मारुती सुजुकीले यसमा दुई इन्जिन अप्सन दिने विभिन्न मिडिया रिपोर्टमा उल्लेख भएपनि कम्पनीले यसको आधिकारीक पुष्टी गरेको छैन ।

कम्पनीले यसलाई १.० लिटर र १.२ लिटर ड्यूल जेट इन्जिनमा ल्याउने चर्चा भइरहेको छ । यद्यपी सेग्मेन्ट मै सर्वाधिक माइलेजका साथ नयाँ सेलेरियो बजारमा आउने भने पक्का छ ।

क्वीडमा पनि १.० लिटर इन्जिन उपलब्ध रहेको छ । तर, हुन्डाई भेन्यूमा भने १.१ लिटर फोर सिलिण्डर इन्जिन दिइएको छ ।


Back_to_top