नयाँ स्वीफ्टमा यस्ता छन् परिमर्जन, कोभिड असर कम भएसँगै विक्री सुरु हुने

काठमाडौं । मारुती सुजुकी स्वीफ्टको थर्ड जेनेरेशन मोडल अहिले विक्री भइरहेको छ । सन् २०१८ मा थर्ड जेनेरेशन मोडल नेपाल आएको थियो । कम्पनीले हालै यसको फेसलिफ्ट मोडल ल्याएको छ । कोभिड १९ को कारण निषेधाज्ञा नभएको भए बैशाख अन्तिम साताबाट नेपालमा स्वीफ्ट फेसलिफ्टको विक्री सुरु हुने तय थियो ।

मारुती सुजुकीले बजारमा ल्याएको अल्टो ८०० पछिको सर्वाधिक सफल मोडल स्वीफ्ट भारतमा २३ लाख यूनिट विक्री पुरा गरेको छ, भने नेपालमा पनि लगभग ८ हजार यूनिट विक्री भएको अनुमान गर्न सकिन्छ ।

फेसलिफ्ट स्वीफ्टमा धेरै ठूलो परिमार्जन भने पाउन सकिदैन । यद्यपी पावर भने पहिलेको भन्दा बढी रहेको छ । स्वीफ्टको अगाडिको ग्रिलमा परिमार्जन देख्न सकिन्छ । नयाँ ग्रिलमा लामो सिधा क्रोम फिनिसिङ दिइएको छ । एलइडी प्रोजेक्टर हेडल्याम्पको साथमा दिइएको डे टाइम रनिङ लाइट, १५ इन्चको अलोय ह्वील र ड्यूल टोन कलर अप्सनसमेत नयाँ स्वीफ्टमा पाउन सकिन्छ ।

स्वीफ्टको इन्ट्रुमेन्ट क्लष्टर पनि परिमार्जन गरिएको छ । यसमा ४.२ इन्चको कलर टिएफटी डिस्प्ले पाउन सकिन्छ । पहिलाको मोनोक्रोम यूनिटको तुलनमा टिएफटी डिस्प्ले निकै उत्कृष्ट देखिन्छ । ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, पहिलेभन्दा राम्रो सिट क्वालिटी, क्रुज कन्ट्रोल, नयाँ पार्किङ क्यामेरा, स्टेरिङ माउन्ट कन्ट्रोल, लेदर र्याप स्टेरिङ ह्वील, इन्जिन स्टार्ट÷स्टप बटम, अटो क्लाइमेट कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेका छन् ।

सुरक्षाको लागि कारमा दुई एयरव्याग, इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्राम (इएसपी) दिइएको छ । यस प्रोग्रामको साथमा हिल होल्ड एसिस्ट प्रदान गरिएको छ । एबीएस, इबीडी, आइएसओ फिक्स चाइल्ड सिट पाउन सकिन्छ ।

कम्पनीले यसको मूल्य भने अहिले सार्वजनिक गरेको छैन । सिजी मोटोकर्पले निषेधाज्ञा खुल्ला भएको पहिलो हप्तामा नै मूल्य सार्वजनिक गर्ने अनुमान गरिएको छ ।


Back_to_top