एमजी बन्यो युरोपमा १० लाख कार बिक्री गर्ने पहिलो चिनियाँ ब्राण्ड

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी एसएआइसी अन्तर्गतको ब्राण्ड एमजी मोटरले युरोपमा कार बिक्रीमा नयाँ रेकर्ड बनाएको छ ।

एमजीले युरोपमा समग्र रूपमा १० लाखभन्दा बढी सवारी बिक्री गर्दै नयाँ कीर्तिमान बनाएको हो । यससँगै एमजी युरोपेली बजारमा १० लाख सवारी बिक्री गर्ने पहिलो चिनियाँ अटोमोबाइल ब्राण्ड बनेको छ ।

एमजी सुरूमा बेलायती अटो निर्माता कम्पनी थियो । सन् २००५ मा नान्जिन अटोमोबाइल कर्पोरेसनले एमजीको स्वामित्व लिएको थियो । सन् २००७ मा एसएआइसी मोटरले नान्जिङ अटोमोबाइल कर्पोरेसनलाई आफ्नो स्वामित्वमा लिएपछि एमजी चिनियाँ स्वामित्वमा आएको हो । एसएआइसीले एमजीलाई सन् २०११ मा वेलायतमा पुनः संचालनमा ल्याएपछि यो सफलता सम्भव भएको हो ।

हाल एमजीको युरोपका ३४ बढी देशमा उपस्थिति छ । युरोपभर एमजीका १,३०० भन्दा बढी डिलर नेटवर्क रहेका छन् । एमजीको युरोपमा वेलायत सबैभन्दा ठूलो बजार हो । जहाँ हालसम्म ३ लाख ७० हजारभन्दा बढी सवारी बिक्री भइसकेका छन्। तीमध्ये १ लाखभन्दा बढी प्योर ईभी छन् ।

त्यस्तै, हालसम्म इटली, स्पेन र फ्रान्समा कम्पनीको समग्र बिक्री १ लाखभन्दा बढी नाघिसकेको छ । युरोपेली बजारमा तीव्र विस्तार र ईभी बढ्दो उपस्थितिसँगै एमजीले आगामी वर्षहरूमा समेत आफ्नो अग्रता कायम राख्ने संकेत देखाएको छ।

ईभीले दिलायो सफलता

एमजीलाई युरोपमा १० लाखको माइलस्टोन पूरा गर्नमा ईभीले ठूलो योगदान गरेको छ । एमजीले युरोपमा आफ्नो बिक्रीको झण्डै एकतिहाई अर्थात् ३ लाख १७ हजारभन्दा बढी ईभी आपूर्ति गरिसकेको छ ।

मुख्य गरी आधुनिक डिजाइन र किफायती मूल्यको संयोजन भएको एमजी फोर ४ ईभीले ग्राहकको ध्यान तानेको छ । कम्पनीले हालै आफ्नो परिमार्जित लाइनअप अन्तर्गत २०२६ संस्करणको एमजी ४ ईभी र नयाँ एमजी४ ईभी अर्बान लन्च गरेको छ ।

त्यस्तै, एमजीको सफलतालाई रफ्तार दिने काम हाइब्रिडले गरेको छ । सन् २०२५ मा मात्रै एमजीले युरोपमा १ लाख ३९ हजार हाइब्रिड बिक्री गरेको थियो । यी तथ्यांकले बेलायतको बजारमा एमजीलाई पुनः शीर्ष १० भित्र पुर्याएको छ।

एमजीले व्यावहारिक पारिवारिक सवारीमा मात्र सीमित नरही साइबरस्टर जस्तो प्योर ईभी स्पोर्टस कार पनि उपलब्ध गरराएको छ । यो मोडल लण्डनस्थित एमजीको डिजाइन स्टुडियोमा विकास गरिएको हो ।

२०२५ मा उल्लेखनीय वृद्धि

सन् २०२५ मा एमजीले युरोप र वेलायत बजारमा संयुक्त रूपमा ३ लाखभन्दा बढी सवारी बिक्री गरेको जनाएको छ। बेलायतमा मात्रै ८५ हजारभन्दा बढी सवारी बिक्री भएका छन्। यो अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशत वृद्धि हो।

एमजीले लगातार ११औँ वर्षसम्म युरोपमा सबैभन्दा धेरै बिक्री हुने चिनियाँ ब्राण्डको स्थान कायम राखेको छ। साथै, समग्र युरोप र बेलायत बजारमा कम्पनी १६औँ स्थानमा उक्लिएको छ । जसले शीर्ष २० भित्र प्रवेश गर्ने एक मात्र चिनियाँ ब्राण्डको रूपमा आफ्नो उपस्थिति स्थापित गरेको छ।

सन् २०२५ मा कम्पनीले १ लाख ३७ हजार युनिट हाइब्रिड बिक्री गरेको छ । जुन वार्षिक आधारमा ३०० प्रतिशत वृद्धि हो । यसैगरी, ४६ हजार प्योर ईभी बिक्री गरेको छ ।

युरोप अटेमेबाइफ म्यानुफ्याक्चरिङ एशिसएसनकाका अनुसार, सन् २०२५ को पहिलो ६ महिनामै एमजी १ लाख ५३ हजार युनिट बिक्रीसहित युरोपमा सबैभन्दा धेरै बिक्री हुने चिनियाँ ब्राण्ड बनेको छ। यस अवधिमा कम्पनीले पहिलो पटक अर्धवार्षिक बिक्रीमा टेस्लालाई समेत उछिनेको थियो । उक्त अवधिमा एमजीको वार्षिक वृद्धि दर १८.६ प्रतिशत रहेको छ । जबकि समग्र युरोपेली बजारमा ०.९ प्रतिशत गिरावट देखिएको थियो।

क्रमिक विस्तारको रणनीति

कम्पनीले आफ्नो ऐतिहासिक विरासतलाई कायम राख्दै हाइब्रिड र विद्युतीय सवारीमा केन्द्रित आधुनिक लाइनअप बीच सन्तुलन कायम गरिरहेको छ ।

एमजीले युरोपमा यो सफलता सजिलै पाएको होइन । उसले ग्राहकको चाहना अनुसारका बजेटमैत्री र नयाँ प्रविधि प्रयोग नयाँ नयाँ मोडल बजारमा उतार्यो । डिलर नेटवर्क विस्तार गर्यो । साथै, बेलायतमा एमजी ब्राण्डको पहिचानले विस्तारमा सहयोग पुर्याएको छ ।

कम्पनीले सन् २०२६ को पहिलो ६ महिनाभित्र युरोपका लागि नयाँ प्रविधि र डिजाइन सम्बन्धी केही महत्वपूर्ण घोषणा गर्ने योजना बनाएको छ । विस्तृत विवरण सार्वजनिक नभए पनि क्षेत्रीय विस्तारलाई अझ तीव्र बनाउने संकेत एमजीले दिइसकेको छ।

युरोप विश्वकै सबैभन्दा प्रतिस्पर्धी अटो बजारमध्ये एक हो। १० लाख एकाइ बिक्रीले भविष्यको सफलता सुनिश्चित नगरे पनि, सन् २०११ को पुनःप्रवेशपछि एमजीले गरेको प्रगति उल्लेखनीय छ। एक समय पुनःपहिचान खोजिरहेको ब्राण्ड आज युरोपभर बलियो प्रतिस्पर्धीको रुपमा उभिएको देखिएको छ ।


Back_to_top