काठमाडौं । एमजीले भारतीय बजारमा कोमेटपछि अर्को माइक्रो कार ल्याउने तयारी थालेको छ । कम्पनीले त्यसको लागि नयाँ कारको पेटेन्ट दर्ता गराएको हो ।
एमजीले भारतमा पेटेन्ट दर्ता गराएको कार चीनमा सार्वजनिक भएको मिनी ईभी ‘बाओजुन येप’ इलेक्ट्रीक एसयूभीको तस्बिरसँग मिल्दो जुल्दो रहेको छ । एमजीले कोमेट पनि विलिङ एयर मिनी ईभीबाट प्रेरित रहेर भारतमा उत्पादन गरेको हो ।
बाओजुन कम्पनी एसएआईसी ग्रुपको सहायक कम्पनी हो । एमजीको मालिक पनि एसएआईसी ग्रुप नै हो । त्यसैले कम्पनीले येप मिनी एसयूभीको डिजाइनमा नै भारतमा नयाँ मोडल ल्याउन लागेको अनुमान गर्न सकिन्छ ।
‘अर्बन फन ट्रेन्डी’ एसयूभीको अवधारणामा तयार भएको यो सानो कार स्टाइल र फिचरको मिश्रण रहेको छ । सानो साइज भएको यस गाडीमा दुई वटा मात्रै ढोका छन् । तर, यसमा ४ जनाले सहजै यात्रा गर्न सक्ने कम्पनीको भनाइ छ ।
यो एक अल्ट्रा कम्प्याक्ट ईभी हो । यसमा दिइएको अफ रोड बम्पर, बुल्जेड ह्वील आर्च, रुफरेल, बडी क्ल्याडीङ लगायतले मिनी गाडीलाई जस्तोसुकै खराव बाटोमा पनि चलाउन सकिएला जस्तो देखाएको छ ।
यसको लम्बाई ३३८१ एमएम, चौडाई १६८५ एमएम र उचाई १७२१ एमएम रहेको छ । यसमा ह्विलबेस भने २११० एमएम रहने छ । कम्पनीले यसमा ५० किलोवाटको सिंगल मोटर दिएको छ ।
बाओजुन येप ईभीलाई १०० किलोमिटर प्रति घण्टाको गतिमा गुडाउन सकिन्छ । सीएलटीसीका अनुसार यसको अधिकतम रेन्ज भने ३०३ किलोमिटर हुनेछ ।

