एमजीले नेपालमा बेच्छ ७ मोडलका कार, यस्तो छ मूल्य

काठमाडौं । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले विभिन्न ७ मोडलका कारहरु बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने ७ मध्ये ४ मोडल इलेक्ट्रीक छन् ।

मोरिस ग्यारेज (एमजी)को सुपर कार ‘साइबस्टर’ सबैभन्दा महंगो मोडल हो । कम्पनीले यसको मूल्य १ करोड ६८ लाख रुपैयाँ तोकेको छ । नाडा अटो शो २०२४ मा नेपाल आएको साइबस्टर इलेक्ट्रीक स्पोर्टस् कार हो ।

त्यसैगरी एमजीको सर्वाधिक सफल मोडल जेडएस ईभी विभिन्न तीन भेरियन्टमा खरिद गर्न सकिन्छ । एमजीले जेडएस ईभीलाई दुई फरक ब्याट्री अप्सनसहित तीन भेरियन्टमा ल्याएको हो ।

स्टायडर्ड ब्याट्री साइज ५१ किलोवाट आवर रहेको मोडलमा दुई भेरियन्ट कम्र्फट र डिलक्स पाउन सकिन्छ । यी दुई भेरियन्टको मूल्य क्रमशः ४८ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यी दुबै भेरियन्टमा ६ लाख रुपैयाँसम्मको नगद छुट प्रदान गरिरहेको छ ।

जेडएस ईभीको लङ रेन्ज मोडल भने ७२ किलोवाट आवर क्षमताको ब्याट्रीमा उपलब्ध छ । यसको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा मोटर पनि ११५ किलोवाट क्षमताको छ ।

एमजीले बिक्री गर्ने अर्को चर्चित मोडल एमजी-फोर हो । युरोपमा थुप्रै अवार्ड जित्न सफल एमजी–फोर दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीले दुई भेरियन्ट ब्याट्री साइजको आधारमा छुट्टाएको हो ।

एमजी–फोरको सर्ट रेन्ज मोडलमा ५१ किलोवाट आवर र लङ रेन्ज मोडलमा ६४ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । ब्याट्री अप्सन अनुसार एमजी फोरको मूल्य ४१ लाख ४९ हजार र ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले बिक्री गर्ने सबैभन्दा कम मूल्यको कोमेट ईभी पनि दुई भेरियन्टमा उपलब्ध छ । कोमेटलाई पेस र प्ले नाम दिएर उपलब्ध गराएको हो । दुबै भेरियनटमा १७.३ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । कोमेट पेस भेरियन्टको मूल्य १८ लाख ९९ हजार र प्ले भेरियन्टको मूल्य २१ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

माथि चर्चा भएका सबै मोडल इलेक्ट्रीक हुन् । इलेक्ट्रीक बाहेक इन्टरनल कम्बस्चन इन्जिनमा पनि एमजीले तीन मोडल बिक्री गर्दै आएको छ । जसमा सबै मोडल एसयूभी हुन् ।

एमजीको सबैभन्दा सस्तो कम्बस्चन मोडल एस्टर एसयूभी हो । १.५ लिटर क्षमताको इन्जिनमा उपलब्ध एस्टरको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, भारतीय बजारमा सफल मोडल हेक्टर पनि नेपालमा बिक्री हुँदै आएको छ । हेक्टर सार्प एमटी मोडलको मूल्य ७७ लाख ४९ हजार रुपैयाँ र सबैभन्दा महंगो इन्जिन भएको एसयूभी एचएस हो । यसको मूल्य ८६ लाख रुपैयाँ तोकिएको छ ।


Back_to_top