एमजी एस-५ : तीन महिनामा हजार युनिट आयात

काठमाडौं । मार्च पहिलो साताबाट बिक्री सुरू भएको एमजी एस-५ अहिले बजारको सर्वाधिक हटकेक मोडल हो । मूल्यका हिसाबले सबैभन्दा सस्तो एसयूभी मानिने एमजी एस-५ फिचरको कारण पनि प्रतिस्पर्धी माथि भारी पर्ने मोडल हो ।

कम्पनीले नेपाल ल्याउन थालेको तीन महिनामा नै १ हजार ५२ युनिट एस-५ एसयूभी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

यसको फिचरले धेरैलाई लोभ्याएको छ । त्यसैले त ‘कर्पोरेट बायर’हरूले एकै पटक ५/७ वटासम्म गाडी खरिद गरिरहेका छन् । लामो सयमदेखि अटोमोबाइल व्यवसायमै रहेका गोल्छा ग्रुपका चेयरम्यान शेखर गोल्छा भन्छन्, ‘मूल्य अनुसार वेष्ट इलेक्ट्रीक एसयूभी हो । मेरै अफिसमा ६/७ वटा किनिसकेँ ।’

उसोत एस-५ टेस्ट ड्राइभ गर्ने जोकोहीलाई यसले लोभ्याउँछ । उपभोक्ताबाट राम्रै प्रतिक्रिया पाएको कारण हौसिएको पारामाउन्ट मोटर्सले बिक्री थालेको तीन महिनामै १ हजार ५२ युनिट एस-५ नेपाल ल्याएको छ । नेपाल आएको गाडीमा झण्डै ५० प्रतिशत बिक्री पनि भएको कम्पनीको भनाइ छ ।

‘हामीले वैशाखसम्म ल्याएको अधिकांश गाडी बिक्री गरिसकेका छौं । जेठ लागेपछि आएको गाडी बाँकी हो । निकै राम्रो बुकिङ पाइरहेका छौं । उपभोक्ताको प्रतिक्रियाबाट निकै उत्साहित छौं’, पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सुनिलबहादुर क्षेत्रीले भने ।

कुन महिना कति आयो ?

मार्च बिक्री सुरू हुनुभन्दा अगाडि केबल ३ युनिट एस-५ आयात भएको थियो । त्यसपछि मार्चमा ५४ युनिट, अप्रिलमामा ३७६ र मेमा ६१९ युनिट आयात भएको देखिन्छ ।


Back_to_top