दुई ठूला ब्याट्री साइजमा आयो टाटा ह्यारीय, टर्क ५०५ न्यूटन मिटर

काठमाडौं । टाटाले ह्यारीयर ईभी भारतबाट प्रिमियर भएको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरेर ह्यारीयर ईभीको डिटेल सार्वजनिक गरेको हो ।

टाटाले आफ्नो क्वाड ह्वील ड्राइभ इलेक्ट्रीक एसयूभीलाई दुई ब्याट्री अप्सनमा ल्याएको छ । दुबै ब्याट्रीलाई ठूलै साइजको मान्न सकिन्छ । कम्पनीले ६५ किलोवाट आवर र ७५ किलोवाट आवरको दुई ब्याट्रीमा ह्यारीयरलाई बजारमा उतारेको हो ।

कम्पनीले सी-७५ रेन्ज भन्दै सानो ब्याट्रीले ५०५ र ठूलो ब्याट्रीले ६२७ किलोमिटर रेन्ज दिने जनाएको छ । ब्याट्री साइज अनुसार हेर्दा सडकमा यसले ४०० देखि ५०० किलोमिटर रेन्ज दिने अनुमान लगाउन सकिन्छ ।

टाटा मोटर्सले यसको रियर ह्वील ड्राइभ भर्सनमा १७५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । त्यसैगरी, फ्रन्ट मोटर ११५ किलोवाटको छ । दुबै मोटरको संयुक्त पावर २९० किलोवाट रहेको ह्यारीयर ईभीले ५०५ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

कम्पनीको दाबीलाई मान्ने हो भने केबल १५ मिनेटमा २५० किलोमिटर गुड्न पुग्ने ब्याट्री रिचार्ज हुन्छ । त्यसको लागि १२५ किलोवाटको डिसी चार्जरले चार्ज गर्नु पर्ने हुन्छ ।

आधुनिक सुरक्षा फिचरले भरिपूर्ण एसयूभी जस्तोसुकै अफरोडमा पनि चलाउन सकिने कम्पनीको दावी छ । यसमा एडास लेभल २ का २२ फिचरहरु पाउन सकिन्छ । स्ट्याण्डर्ड रुपमै ६ एयरब्याग उपलब्ध एसयूभीमा  अटोमेटीक ड्राइभरलेस पार्किङ सुविधा पाउन सकिन्छ ।

पहिलो पटक टाटाले आफ्नो एसयूभीमा १४.५३ इन्चको क्यूएलइडी स्कृन प्रयोग गरेको छ । यसमा १०.२ इन्चको इन्फर्मेसन डिस्प्ले दिइएको छ । वायरलेस चार्जरदेखि भ्यान्टिलेटेड सिटसम्म पाइने एसयूभीमा फिचरहरुको लामो लिस्ट पाउन सकिन्छ ।

यसको बुकिङ भने जुलाई २ तारिखबाट भारतमा सुरु हुनेछ । कम्पनीले यसको मूल्य २१ लाख ४९ हजार भारतीय रुपैयाँबाट सुरु हुने जनाएको छ ।

 


Back_to_top