काठमाडौं । नेपाली आटोमोबाइल इतिहासमै २०८२ मा पहिलोपटक दुई अटोशो आयोजना हुँदै छन् । दुई साताको अन्तरमा एकै प्रकृति, एउटै ठाउँ तर, फरक-फरक संस्थाले अटोशो आयोजना गर्न लागेका हुन् ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्दैछ । त्यस्तै, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले भदौ ४ गतेदेखि १० गतेसम्म भृकुटीमण्डपमै १७ औं संस्करणको नाडा अटोशो आयोजना गर्दैछ ।
नाडा र नाइम मूलभूत रूपमा फरक प्रकृतिका संस्था होइनन् । नाम र कार्यसमिति सदस्य फरक हुनु बाहेक खासै तात्तिक भिन्नता देखिँदैन । एउटै बाउका दुई छोरो मन नमिलेर छुट्टिएको जस्तो मात्रै रहेको स्वयम् व्यवसायीहरू नै बताउँछन् । यद्यपि, यस वर्ष जन्मिएको नाइमालाई नेपालमै सवारी उत्पादन गर्ने कम्पनीहरूको संस्थाको रूपमा चिनाइएको छ । तर, कार्यसमितिमा सवारी आयातकर्ताकै बाहुल्यता छ ।
नाइमाको उद्देश्य र लक्ष्य पनि नाडाकोभन्दा खासै फरक देखिँदैन । शाब्दिक रूपमा र सदस्य संख्यामा फरक भए पनि दुवैले गर्ने मुख्य काम लगभग उस्तै हो । दुवैले नेपालको अटोमोबाइल क्षेत्रको हितमा वकालत गर्ने हुन् । नाइमामा नाडाको नेतृत्वसँग फरक मत राख्ने र किनारामा पारिएका व्यक्तिहरूको आबद्धता देखिन्छ । यद्यपि, यसअघि नाडामा नरहेका केही व्यक्तिहरू पनि नाइमा आबद्ध छन् ।
नाडा नेपाली अटो क्षेत्रमा ५ दशकको लिगेसी बोकेको संस्था हो । तर, हालको नेतृत्वको गैरजिम्मेवारीपन, टिमवर्कको अभाव र अरुलाई ‘अण्डर स्टिमेट’ गर्दाको परिणाम स्वरुप नाइमा जन्मिएको स्वयम् नाडाका पदाधिकारीहरू बताउँछन् ।
एउटै प्रकृतिका संस्थाले दुई सातामा गर्न लागेको अटोशो आफैंमा रोचक हुने देखिन्छ । अधिकांश सवारी बिक्रेता उही, ब्राण्ड उही, देखाउने प्रोडक्ट उही । तर, नाम मात्र फरक ।
कतिपयले दुवै अटो शो सँगसँगै आयोजना हुनुलाई ‘हाँडी गाउँको जात्रा’को समेत संज्ञा दिएका छन् । विश्वका अन्य देशका तुलनामा नेपालको अटोमोबाइल बजार निकै सानो छ । ग्राहक सीमित छन् । एउटै प्रकृतिका संस्थाले उही समयमा आयोजना गर्ने उस्तै खालका अटोशोको औचित्य के भन्ने प्रश्न समेत उठेको छ ।
दुवै अटो शोका अधिकांश ग्राहक एउटै हुन् । अटोशो पिच्छे ग्राहक पनि फरक हुने सम्भावना देखिँदैन । यस्तोमा ग्राहकले पनि फरक पाउने भनेको एउटा अटोशोमा सहभागी नभएका ब्राण्ड अर्कोमा भेट्ने मात्र हो । त्यो बाहेक खासै फरक अप्सन पाउने देखिँदैन । दुवै अटो शो तामझाममै मात्र सीमित होलान कि व्यापारिक हिसाबमा फलदायी होलान, त्यो भने समयले नै देखाउने छ । यद्यपि, अर्थतन्त्र चलायमान बनाउने हिसाबमा भने जति धेरै अटोशो भयो, त्यति राम्रो हो ।
आगामी वर्षको बजेटमा कर बढ्ने हल्लका कारण व्यवसायीहरूले पछिल्लो डेढ महिनामा मात्रै साढे ५ हजार युनिट ईभी ल्याएका छन् । आयात भएका अधिकांश गाडी अहिले स्टकमा छन् । अब जसरी पनि ती गाडी बेच्नैपर्ने बाध्यता रहेका अधिकांश व्यापारीहरू दुवै अटोशोमा सहभागी हुने देखिन्छ ।
नाडा अटोशोभन्दा नाइमा मोबिलिटी एक्स्पो कति फरक ?
हाम्रो बुझाइमा दुवै अटो शो उस्तै हुने देखिए पनि आयोजकहरू भने एक अर्काको तुलनामा फरक हुने बताउँछन् ।
नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्य नाइम मोबिलिटी एक्स्पो नाडा अटोशोको तुलनामा ठाउँ बाहेक अरु सबै फरक हुने बताउँछिन् । उनका अनुसार नाडा अटोशोभन्दा नाइमा मोबिलिटी एक्स्पोको लेआउट नै फरक हुनेछ । साथै, एक्स्पोमा ग्राहकहरूका लागि लर्निङ प्रोग्राम संचालन गरिने उनले बताइन् । ग्राहकको सुविधा र आकर्षणका लागि अन्य कार्यक्रमहरू पनि संचालन गर्ने योजना रहेको उनले बताइन् ।
‘अनफर्चुनेटली ठाउँ हाम्रो एउटै परेको छ । त्यो बाहेक नाडा अटोशोभन्दा हाम्रो एक्स्पो हरेक हिसाबमा फरक हुन्छ,’ उनले मेरोअटोसँग भनिन्, ‘स्वभाविक रुपमा लेआउट फरक हुन्छ । .साथै, एक्स्पोमै लर्निङ प्रोगाम संचालन गर्दछौं । ग्राहकको सुविधाका र आकर्षणका लागि अन्य कार्यक्रमहरू पनि संचालन गर्दैछौं । जुन विगतमा गरिँदैन्थ्यो ।’
४८ वटा स्टल रहने भएकाले मोबिलिटी शो आफैंमा भव्य हुने उनले बताइन् । ‘मोबिलिटी एक्स्पोमा दुईपाँग्रे, चारपाँग्रे र कमर्शियल गरी ४८ वटा स्टल रहने छन् । नेपालमा रहेका लगभग सबै ब्राण्डको उपस्थिति हुनेछ छ । यसले एक्स्पोलाई भव्य बनाउने विश्वास छ,’ उनले भनिन् ।
कस्तो छ तयारी ?
नाइमाले अटोशोका लागि स्टल बुकिङ समेत गरिसकेको छ । नाइमाले गत गत वैशाख २२ देखि २९ गतेसम्म स्टल बुकिङ खुलाएको थियो । जसमा दुईपाँग्रे, चारपाँग्रे र कमर्शियल गरी ५० ब्राण्डले स्टल बुकिङ गरेका थिए । नाइमा मोबिलिटी एक्स्पोमा २३ वटा चारपाँग्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुने नाइमाले जनाएको छ ।
मोबिलिटी एक्स्पोका लागि लेआउट डिजाइन, कभरिङ मेटेरियल्स निर्माण, प्रचार प्रसार लगायत काम सुरू भइसकेको अध्यक्ष वैद्यले जानकारी दिइन् ।
यी हुन् नाइमा मोबिलिटी एक्स्पोमा सहभागी हुने ब्राण्डहरू
चारपाँग्रे : बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ।
दुईपाँग्रे : एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे-नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो ।
कमर्शियल : चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङ ।
नाडाले अटोशोको मिति घोषणा गरे पनि हालसम्म बुकिङ खुलाएको छैन । चाँडै स्टल बुकिङ खुलाउने तयारी भइरहेको जनाएको छ ।

