काठमाडौं । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्नो सर्वाधिक चर्चित मोडल एस-फाइभमा ३ लाख ५० हजारसम्मको छुट दिएको छ । कम्पनीले चलिरहेको नाइमा नेपाल मोविलिटी एक्स्पोमा उक्त स्कीम घोषणा गरेको हो ।
एमजीको सर्वाधिक चर्चा पाइरहेको एस-फाइफ ‘भ्यालू फर मनी’ मोडलको रुपमा परिचित छ । त्यसैले अझै मूल्य घटेसँगै ग्राहकको आकर्षण एस-फाइभमा थपिने बिक्रेताको भनाइ छ ।
‘हामीले नाइमा मोविलिटी एक्स्पो र आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर केही छुटको स्कीम ल्याएका हौं’, पारामाउन्ट मोटर्सका जनरल मेनेजर शुनिल क्षेत्रीले मेरोअटोसँग भने ।
कम्पनीले ल्याएको स्कीम भेरियन्ट अनुसार फरक-फरक छ । एस-फाइभको इन्ट्री भेरियन्ट कम्फर्टमा नगद १ लाख रुपैयाँ छुट दिने कम्पनीले घोषणा गरेको छ । यो भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेकामा अब ४२ लाख ९९ हजारमा कम्फर्ट भेरियन्ट किन्न सकिन्छ ।
कम्फर्ट भेरियन्टमा ५१ किलोवाट आवरको ब्याट्री छ । यसमा नगद छुटसँगै एक वर्षको बीमा र ७ किलोवाटको चार्जर निःशुल्क दिने कम्पनीले जनाएको छ ।
सबैभन्दा धेरै बिक्री हुँदै आएको लग्जरी भेरियन्टमा २ लाख ५० हजार नगद छुट दिने स्कीम घोषणा भएको छ । यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेकोमा छुटपछि ४७ लाख ४९ हजार रुपैयाँमा डिलक्स भेरियन्ट खरिद गर्न सक्नेछन् ।
यसमा पनि कम्पनीले एक वर्षको बीमा र निःशुल्क ७ किलोवाटको एसी चार्जर दिने भएको छ ।
ठूलो ६४ किलोवाट आवरको ब्याट्री भएको डिलक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा पनि २ लाख ५० हजार नगद छुट दिने कम्पनीले जनाएको छ । नगद छुटपछि ५२ लाख ४९ हजारमा ठूलो ब्याट्री भएको डिलक्स किन्न सकिन्छ ।
यदि, तपाई पुरानो गाडी एक्सचेन्ज गरेर एमजी एस-फाइभ डिलक्स खरिद गर्दै हुनुहुन्छ भने एक्सचेन्ज बोनस १ लाख रुपैयाँ पाउन सकिन्छ । समग्रमा ठूलो ब्याट्री भएको एस-फाइभ किन्नेले ३ लाख ५० बराबरको नगद छुट र एक वर्षको बीमा र ७ किलोवाटको एसी चार्जर पाउँछन् ।
यस्तो छ एस-फाइभ
एमजी एस-५ को इन्टेरियर मिनिमल डिजाइनमा तयार भएको छ । ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले रहेको क्रसओभर एसयूभीमा हिटेड र भेन्टिलेटेड सिट पाउन सकिन्छ ।
नेपालमा धेरैले सोध्ने ग्राउण्ड क्लियरेन्स पनि यसमा १८० एमएम पाउन सकिन्छ । कम्पनीले एस–५ सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्री अहिलेसम्मकै सबैभन्दा पातलो रहेको कम्पनीको दाबी छ । ब्याट्री पातलो भएको कारण यसको क्याबिन पनि निकै स्पेसियस देख्न सकिन्छ ।

