काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आफ्नो इलेक्ट्रीक लाइनअपमा नयाँ एसयूभी थप्ने भएको छ । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले ‘एस सिक्स’ मे महिनाबाट बिक्री थाल्न लागेको हो ।
‘नेपालको लागि एमजी एस सिक्स चीनबाट हिँडिसकेको छ । अबको तीन साता भित्र नेपाल आइपुग्छ । २०२६ मे महिनाबाट बिक्री थाल्दैछौं,’ पारामाउन्ट मोटर्स स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनीका अनुसार निकै आकर्षक मूल्यमा आउने एस सिक्सले बजारमा उपलब्ध बीवाइडी सिलायन सेभेन, दीपल एस-०७ र लीपमोटर सी-१० एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ । यी तीनवटै मोडल नेपाली बजारमा ६५ देखि ८० लाख रुपैयाँ मूल्य भित्र बिक्री हुँदै आएका छन् ।
कम्पनीको दाबी अनुसार एमजी एस सिक्सको फिचरहरूले प्रतिस्पर्धी मान्छ वा मान्दैन भन्ने हेरौं ।
साइज
एमजी एस सिक्सको लम्बाइ ४७०८ एमएम छ । चौडाइ १९१२ एमएम र उचाइ १६७२ एमएम अग्लो एसयूभीमा २८३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा ६७४ लिटरको बुट स्पेश उपलब्ध हुनेछ ।

अहिले बजारमा रहेको बीवाइडी सिलायन सेभेनको लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम र उचाइ १६२० एमएम छ । यसमा ह्वीलबेस भने २९३० एमएम लामो छ भने बुट स्पेश ५२० लिटर क्षमताको छ ।
दीपल एस-०७ को लम्बाइ ४७५० एमएम, चौडाइ १९३० एमएम र उचाइ १६२५ एमएम छ । यसमा २९०० एमएम लामो ह्वीलबेस छ भने ५७० लिटरको बुट स्पेश पाउन सकिन्छ ।
एमजी एस सिक्सको प्रतिस्पर्धा हुने अर्को मोडल लीपमोटर सी-१० एसयूभी हो । यसको लम्बाइ ४७३९ एमएम, चौडाइ १९०० एमएम र उचाइ १६८० एमएम छ । यसमा २८२५ एमएम लामो ह्वीलबेस छ भने ५८१ लिटर क्षमताको बुट स्पेश छ ।
ब्याट्री साइज र रेन्ज
एमजीले नेपालमा बिक्री सुरू गर्न लागेको एस सिक्समा ७५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ । उक्त ब्याट्रीले ५३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ ।

दीपल एस-०७ मा ६६.८ किलोवाट आवरको गोल्डन सिल्ड ब्याट्री छ । डब्लूएलटीपीका अनुसार यसको रेन्ज ४१० किलोमिटर आसपास रहनेछ ।
बीवाइडी सिलायन सेभेनमा ७१.८ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग भएको छ । उक्त ब्याट्रीले डब्लूएलटीपी टेस्टमा ४४० किलोमिटर रेन्ज दिने देखाएको छ ।
लीपमोटर सी-१० एसयूभीमा ६९.९ किलोवाट आवरको ब्याट्री प्रयोग भएको छ । यसको डब्लूएलटीपी रेन्ज ४२० किलोमिटर रहेको छ ।
मोटर साइज
पारामाउन्ट मोटर्सले कुन साइजको मोटरमा एस सिक्स नेपाल आउँदै भन्ने एकिन जानकारी दिएको छैन । तर, ९९ वा १०९ किलोवाट क्षमताको मोटरमा आउने अनुमान गर्न सकिन्छ ।
एस सिक्सको प्रतिस्पर्धी मानिएको सी-१० एसयूभीमा १६० किलोवाट, बीवाइडी सिलायन सेभेनमा १०० किलोवाट र दीपल एस-०७ मा ९९ किलोवाटको मोटर पाउन सकिन्छ ।
मूल्य
अहिले बजारमा बिक्री हुँदै आएको र माथि चर्चा भएका मोडल मध्ये बीवाइडी सिलायन सेभेन सबैभन्दा महँगो मोडल हो । यसको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।
दीपल एस-०७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ छ । लीपमोटर सी-१० को मूल्य ७२ लाख रुपैयाँ पर्छ । यी तीनवटै मोडलभन्दा एमजी एस सिक्सको मूल्य कम हुने हाम्रो अनुमान छ । सम्भवतः ६५ लाख आसपासमा यसको मूल्य रहने छ ।

