काठमाडौं । कोरियाली अटोमोबाइल उत्पादक हुण्डाईले दुई नयाँ कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले अर्थ र भेनस नामका दुई नयाँ कन्सेप्ट कारहरूको टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक टिजर अनुसार यी कारहरूले हुण्डाईको आयोनिक ईभी लाइनका लागि एउटा विल्कुलै नयाँ डिजाइन शैली प्रस्तुत गर्ने देखिएको छ ।
हुण्डाईको चीनस्थित आधिकारिक वेबसाइटमा अप्रिल १० मा हुने आयोनिक ब्रान्ड लन्चको लागि काउन्ट डाउन सुरु भएको छ । जसले अर्थ र भेनस कन्सेप्टहरू सोही दिन सार्वजनिक हुन सक्ने संकेत गर्दछ ।
हुण्डाईले सामाजिक संजालमा राखेका टिजरहरू अनुसार सिल्भर कलरको कार ‘अर्थ’ कन्सेप्ट हो । यो कन्सेप्टको डिजाइनमा सबैभन्दा मुख्य आकर्षण यसको अगाडिपट्टि रहेको ‘वाइ’ आकारको एलईडी लाइटको सजावट हो । जुन केही हदसम्म लेम्बोर्गिनी रेवुएल्टोबाट प्रभावित देखिन्छ।
यसको लाइटिङ सेटअप टेस्ला साइबर ट्रक जस्तै छोटो बोनेटको माथिल्लो भागसम्म फैलिएको छ । जहाँबाट यसको लामो विन्डस्क्रीन सुरू हुन्छ । अर्थ कन्सेप्टको अन्य डिजाइन अगाडिको फेन्डरमा रहेका एंगुलर प्यानलहरू र पाँग्रा माथिको बनावटले हेर्दा यो एसयूभी मोडल हुनसक्ने संकेत गर्दछ ।
त्यस्तै, गोल्डेन कलरको ‘भेनस’ कन्सेप्ट रहेको छ । यसको टिजरमा गाडीको पछाडिको केही भाग देखाइएको छ । यसमा पनि अर्थ कन्सेप्टमा जस्तै एंगुलर प्यानलहरू प्रयोग गरिएको छ । तर यसको गोलो पाँग्राको बनावटले यो अझ बढी स्लिम र आकर्षक देखिन्छ। भेनस कन्सेप्टमा ढल्केको छत, कालो रंङको स्पोइलर, पातलो तेर्सो एलईडी टेल ल्याम्प र ठूलो आकारको रियर बम्पर रहेको छ ।

