काठमाडौं । बेलायती मोटरसाइकल ब्राण्ड ट्रायम्फले ४०० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले बजारमा ४०० सीसी इन्जिन क्षमतामा बोनभिल नामक नयाँ मोडल ल्याउने तयारी गरिरहेको हो ।
बोनेभिल ४०० अन्तर्राष्ट्रिय बजारमा पहिलैदेखि उपलब्ध ट्रायम्फ बोनेभिल १०० मोडलबाटै प्रेरित सानो इन्जिन क्षमताको मोटरसाइकल हो । जसले आफ्नो पुरानै क्लासिक लुकलाई निरन्तरता दिएको छ ।
बोनेभिल ४०० परीक्षणको क्रममा सडकमा देखिएसँगै बजारमा आउने कन्फर्म भएको हो । सार्वजनिक स्पाइ तस्बिर हेर्दा यो मोटरसाइकलको डिजाइन रोयल इनफिल्डको बुलेट र क्लासिक ३५० जस्तै देखिन्छ । त्यसैले बजारमा आएपछि बोनेभिल ४०० ले बुलेट र क्लासिकसँग सिधा प्रतिस्पर्धा गर्ने बताइएको छ ।
बोनेभिल ४०० मा टियरड्रप आकारको फ्युल ट्याङ्क, साधारण साइड प्यानल, म्याट ब्ल्याक फिनिस गरिएको लामो सिंगल ब्यारल एग्जस्ट र अगाडि–पछाडि लामो फेन्डरहरू छ । जसले मोटरसाइकललाई सफा र क्लासिक डिजाइन बनाएको देखिन्छ ।
यसमा साधारण तर प्रभावकारी अगाडि फोर्क गेटरसहितको टेलिस्कोपिक फोर्क, पछाडि ट्वीन सक अब्जर्बार सस्पेन्सन सेटअप र वायर स्पोक ह्वील प्रयोग गरिएको छ । यो सेटअपले आरामदायी राइड दिनुका साथै लागत पनि नियन्त्रणमा राख्ने अपेक्षा गरिएको छ। राइडिङ पोजिसन पनि आरामदायी देखिन्छ । सेन्टर सेट फुटपेग र अग्लो ह्याण्डलबारले सहर तथा लामो यात्रामा सहजता दिने काम गर्छ ।

साथै, मोटरसाइकलमा आधुनिक टचका रूपमा राउण्ड आकारको डिस्प्ले, राउन्ड एलईडी हेडलाइट, एलईडी इन्डिकेटर, एलईडी टेललाइट र राउण्ड मिरर दिइएको छ ।
रिपोर्ट अनुसार यो मोटरसाइकलमा ट्रायम्फ स्पीड ४०० मा भएकै इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले अधिकतम ४० पीएस पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले नयाँ मोडलका बारेमा अन्य कुनै जानकारी सार्वजनिक गरेको छैन ।
ट्रायम्फका प्रायः सबै मोटरसाइकल भारतमा निर्माण हुँदै आएका छन् । तर, यो मोडल बाहिरै उत्पादन हुनेछ ।
भारतका लागि भने मूल्य सस्तो राख्न ३५० सीसी इन्जिन प्रयोग हुन सक्ने सम्भावना रहेको अनुमान छ । रिपोर्ट अनुसार ट्राइम्फको बोनेभिल मोटरसाइकल २०२६ को जुन महिनामै लन्च हुने बताइएको छ । भारतमा ४०० सीसी सेग्मेन्टमा लाइने करका कारण मोटरसाइकलको मूल्य महँगो हुने भएकाले भारतीय बजारमा ३५० सीसी सेग्मेन्टमा आउने भएको हो ।

