काठमाडौं । एमजीले भारतमा उत्पादन गर्ने सानो इलेक्ट्रीक कारको धमाधम परिक्षण भइरहेको तस्विरहरु बाहिर आएका छन् । सहरी क्षेत्रको लागि निकै उपयुक्त हुने देखिएको यो कार एमजीको इन्ट्री लेभल कार हुनेछ ।
यसलाई कम्पनीले माइक्रो ह्याचव्याक भनेको छ । कारको लम्बाई ३ मिटरभन्दा छोटो छ । यसको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम र उचाई १६३१ एमएम दिएको छ । यसको उचाई बजारमा उपलब्ध कम्प्याक्ट साइजका एसयूभी बराबर हो । एमजीले यसमा २०१० एमएम लामो ह्वीलवेस दिएको छ ।
चार जनाले यात्रा गर्न मिल्ने यो कारमा पछाडि स्पेयर टायर पनि दिएको सार्वजनिक भएको तस्विरमा देख्न सकिन्छ । पूर्णरुपमा ढाकेर परिक्षण भएको कारण यसको भित्र कस्ता फिचर दिइएका छन् भन्ने विषयमा खासै जानकारी प्राप्त भएको छैन ।

एमजीले यो सानो सहर केन्द्रित कारमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, इन्फोटेन्टमेन्ट सिस्टम, सफ्ट टच मेटेरियलबाट बनेको ड्यासबोर्ड रहेने अनुमान गरिएको छ ।
कम्पनीले ब्याट्री र मोटरको विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन । सम्भवत फुल चार्जमा २०० किलोमिटर रेन्ज दिनेगरी यो बजारमा आउने छ । यसलाई आगामी जनवरीमा हुने अटो एक्स्पो २०२३ बाट कम्पनीले बजारमा ल्याउने अनुमान गरिएको छ ।


