काठमाडौं । कार भन्ने वित्तिकै डिजाइन र पारवको विषय सर्वाधिक चर्चामा रहने गर्छन् । प्रायः कार उत्पादकहरुले सुरुमा पेट्रोल इन्जिनबाट चल्ने कार बनाएपछि डिजेल इन्जिनमा सिफ्ट भएको इतिहास पाइन्छ । तर, भारतीय अटोमोवाइल ब्राण्ड महिन्द्रा र टाटाले डिजेल इन्जिनबाट आफ्नो यात्रा थालेका थिए ।
त्यसमा पनि महिन्द्राले आफ्नो एसयूभीमा पेट्रोल इन्जिनको प्रयोग निकैपछि सुरु गरेको हो । महिन्द्राले सन् २०१६ मा केयूभी १०० बाट पेट्रोल इन्जिन प्रयोगमा ल्याएको थियो । त्यहि इन्जिनलाई थप ट्यूनिङ गरेर टर्बो सहित एक्सयूभी ३०० पनि प्रयोग गरेको हो । अहिले केयूभी १०० को उत्पादन बन्द भयो भने एक्सयूभी ३०० राम्रो संख्यामा विक्री गर्दै आएको छ ।
कम्पनीले सन् २००९ बाटै पेट्रोल इन्जिन उत्पादनको काम सुरु गरेको थियो । कम्पनीको ग्लोबल प्रोडक्ट डेभलपमेन्टका चीफ आर भेलुसामीका अनुसार ७२ जनाको विशेष टिम बनाएर पेट्रोल इन्जिनको विकास गर्ने काम भएको थियो । त्यही टिमले १.२ लिटर, १.५ लिटर र २.० लिटर क्षमताका तीन फरक इन्जिन उत्पादन गरेको हो ।
साना इन्जिन १.२ लिटर र १.५ लिटर बनाउन इन्जिनको बोर र स्ट्रोक एउटै रहेको थियो । महिन्द्राको इन्जिनियरहरुले १.२ लिटरको एमपीएफआई इन्जिनमा भेरियवल भल्भ टाइमीङ राखेका छन् । यसैलाई पछि टर्बो चार्ज्ड भर्सनमा पनि विकास गरिएको थियो ।

हालको आधुनिक कारहरुमा महिन्द्राले १.२ लिटरको नेचुरल्ली एस्पिरेटेड र टर्बोको साथै २.० लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन प्रयोग गरिरहेको छ । महिन्द्राले १.५ लिटर इन्जीन भने हालसम्म प्रयोगमा ल्याएको छैन । यो इन्जिन महिन्द्राले ल्याउने ७ सिटर एक्सयूभी ३०० मा प्रयोग गर्ने सम्भावना रहेको छ ।
आम मानिसको डिजेल इन्जिन र पेट्रोल इन्जिनलाई हेर्ने फरक धारणा पाइन्छ । डिजेल इन्जिनले आवाज निकाल्दा पनि मानिसलाई समस्या हुन्न । तर, पेट्रोल इन्जिनबाट ठूलो आवाज आए त्यो सिधै रिजेक्ट हुन्छ ।

त्यसैले पेट्रोल इन्जिन बनाउँदा महिन्द्राले फ्रिक्सन रिडक्सन टेक्नोलोजी र पिस्टनमा स्पेशल कोटिङ गरेको छ । पेट्रोल इन्जिनमा अर्को पनि महत्वपूर्ण कुरा हुन्छ, गियरबक्सको छनोट ।महिन्द्राले पछिल्लो उत्पादन थार, एक्सयूभी ७०० तथा स्कर्पियोएनमा २.० लिटर एमस्टेलन टर्बो चार्ज्ड डाइरेक्ट इन्जेक्सन (टीजीडिआई) पेट्रोल इन्जिन दिएको छ । सन् २०२० को अप्रिलबाट लागू भएको बीएस सिक्स प्रदुषण मापदण्ड अनिर्वाय भएसँगै ठूला एसयूभीहरुमा पनि पेट्रोल इन्जिन प्रयोग हुन थालेको हो ।

महिन्द्राले थार, एक्सयूभी ७०० मा र स्कर्पियाेमा २.० लिटरको परिस्कृत इन्जिन प्रयोग गरेको छ । यो इन्जिनको डिजाइन यूरो ५ मापदण्ड अनुसार बनाइएको छ । यो इन्जिनले भारतमा लागु हुँदै गरेको क्याफी नम्समा समेत आफुलाई प्रमाणित गर्ने छ ।


