काठमाडौं । एमजीले भारतमा उत्पादन गरेको कम्प्याक्ट यूटीलीटी भेहिकल (सियूभी) सेग्मेन्टको विन्डसर ९ दिनपछि सार्वजनिक हुँदैछ । भारतीय बजारमा उत्पादन भएरपनि यसमा फिचरको लामो लिष्ट समाबेस भएर आउँदैछ ।
कम्पनीले यसको विभिन्न भागको टिजर बेलाबखत सार्वजनिक गर्दै आएको छ । सेप्टेम्बर ११ तारिखबाट भने यसको भारतमा बिक्री सुरु हुनेछ । भारतमा बिक्री सुरु भएको केही दिनमै नेपालमा बुकिङ खुला गर्ने तयारी पारामाउन्ट मोटर्सले गरिरहेको छ ।
अहिलेसम्म कम्पनीले बाहिर ल्याएको तस्बिर अनुसार यसमा दिइएको पछाडिको प्यासेन्जर सिट १३५ डिग्रीसम्म रिक्लाइन गर्न सकिन्छ । यसका अलावा रियर एसी भेन्ट, थ्री प्वइन्ट सिटबेल्ट, बीचमा आमरेष्ट, हनीकब प्याट्रन स्टेचिङ सिट दिएको देखिन्छ ।
कम्पनीले यसमा १५.६ इन्चको ठूलो साइजको इन्फोटेन्टमेन्ट सिस्टम, ९.२ इन्चको इन्ट्रुमेन्ट कन्सोल देखिएको छ । साथै, कन्ट्रोल बटमहरु सहितको स्टेरिङ ह्वील यसमा दिइएको छ ।
एमजीको नयाँ ईभीको ब्याट्री साइज र मोटर पावरको विषयमा केही जानकारी दिएको छैन । तर, अन्तर्राष्ट्रिय बजारमा विलिङ क्लाउडमा भने ३७.९ किलोवाट आवर र ५०.६ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा पाउन सकिन्छ ।