काठमाडौं । विद्युतीय कारमा एमजीको इजेडएस किन्ने ग्राहकले ८० प्रतिशतसम्म बैंकिङ सुविधा पाउँछन् । गाडीको मूल्यको २० प्रतिशत मात्रै डाउन पेमेन्ट तिर्दा गाडी किन्न पाइने भएपनि ब्यक्तिगत मासिक किस्ता तिर्नेगरी जेडएस इभी किन्ने मानिसले न्यूनतम ३० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउने गरेका छन् ।
अहिले पारामाउन्ट मोटर्सले जेडएस इभीको मूल्य ५० लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । कम्पनीले यो मूल्यलाई ‘फिक्स प्राइस’ भनेकाले छुटको यहाँ हिसाव गर्न परेन ।
त्यसैले जेडएस इभी किन्ने योजना बनाउने मानिसले ३० प्रतिशत डाउन पेमेन्ट वापत १५ लाख २९ हजार ७०० रुपैयाँ नगद व्यवस्था गर्नुपर्छ । साथै, गाडी किन्ने वित्तिकै गर्नु पर्ने करिब ४५ हजार रुपैयाँको बीमा र २० हजार वार्षिक कर पनि तयार गर्नुपर्छ । यी सबै रकम जोड्दा १५ लाख ९५ हजार हाराहारी नगद जम्मा गर्नु पर्छ ।
सम्पूर्ण मासिक किस्ता थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।
गाडी विक्रेताले आवश्यक एशोसरीजहरु नदिने भएकाले कम्तीमा १२ देखि २० हजार रुपैयाँ एशोसरीजको लागि तयार गर्नु पर्छ । साथै, बैकबाट कर्जा लिने भएकोले बैंकको सर्भिस चार्जवापत लाग्ने रकम पनि तयार गर्नु पर्छ । यसको मतलव गाडी किन्ने योजना बनाउनु अगाडि १६ लाख ४० हजार हाराहारी रकम जम्मा गर्दा ढुक्क हुन सकिन्छ ।
डाउन पेमेन्टपछि ३५ लाख ६९ हजार ३०० रुपैयाँ कर्जा लिनु पर्छ । अहिले बैंकको व्याजदर निकै महंगो भइसकेको छ । यद्यपी इभी किन्ने ग्राहकले औषतमा (कुनै बैंकले सस्तो र कुनैले मंहगो लिन सक्छन्) ११ प्रतिशत हाराहारीमा कर्जा लिन सकिन्छ । यसरी लिएको कर्जा ७ वर्ष भित्र तिरिसक्नु पर्ने हुन्छ ।

अहिले बजारमा उपलब्ध एमजी जेडएस ३० प्रतिशत रकम डाउन पेमेन्ट बापत बुझाएर किन्न चाहने ग्राहकले ७ वर्षसम्म अनुमानित ६१ हजार ११५ रुपैयाँ मासिक किस्ता बुझाउनु पर्ने हुन्छ ।
यस्तो छ जेडएस इभी
एमजीले अहिले नेपालमा विक्री गर्दै आएको जेडएस इभीमा ४४.५ किलोवाट आवरको व्याट्री रहेको छ भने ११३ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । नेपाली सडकमा फुल चार्जमा २७० किलोमिटर हाराहारी रेन्ज दिइरहेको कारमा ‘एमजी पाइलट’ फिचर पाउन सकिन्छ । ‘एमजी पाइलट’ पूर्णत सुरक्षा सहायताको लागि प्रदान गरिएको प्रविधि हो ।

एमजी पाइलट टेक्नोलोजीमा एक्टीभ इमेर्जेन्सी ब्रेकिङ, लेन किप एसिस्ट, एडप्टीभ क्रुज कन्ट्रोल, ट्राफिक जाम एसिस्ट, व्ल्याइन्ड स्पर्ट मोनिटरिङ, इन्टेलिजेन्ट हाइबीम एसिस्ट, इन्टेलिजेन्ट स्पीड लिमिट एसिस्ट जस्ता सुरक्षा फिचर ग्राहकले पाउने छन् ।
एमजी जेडएस इभीमा अगाडिका दुई सिट ग्राहकले आफ्नो आवश्यकता अनुसार तातो र चिसो बनाउन सक्नेछन् । स्टाइलिस डिजाइन, उत्कृष्ट फिचर र दमदार रोड प्रिजेन्सको कारण इजेडएस किन्ने ग्राहक बढ्दै गएका छन् ।


