नामी ह्याचब्याक उक्लियो हजार युनिट क्लबमा, कहिले कति आयो ?

काठमाडौं । डोङफेङ नामी-०१ ह्याचब्याक ठ्याक्कै १ हजार युनिट आयात पूरा भएको छ । सन् २०२४ सेप्टेम्बरमा सार्वजनिक भएको डोङफेङ नामी-०१ ले आयात सुरू भएको १८ महिनामा उक्त संख्या भेट्टाएको हो ।

एमएडब्लू वृद्धिले नेपाली बजारमा बिक्री वितरण गर्ने डोङफेङ नामीको फ्यामली ह्याचब्याक कार आफ्नो डिजाइन, फिचर, टेक्नोलोजी र सेग्मेन्ट फस्ट सुविधाको लागि परिचित मोडल हो । मूल्यको हिसाबले पनि २९ लाख ९९ हजारदेखि ३५ लाख ९९ हजार रुपैयाँसम्म पर्ने नामी-०१ दुई ब्याट्री अप्सन र दुई मोटर अप्सनमा बिक्री हुँदै आएको छ ।

साइजमा ४ मिटरभन्दा थोरै लामो नामी ह्याचब्याक कार ई-वान, ई-टु र ई-थ्री भेरियन्टमा बिक्री हुँदै आएको छ । कम्पनीले ई-वान र ई-टु भेरियन्टमा सानो ३१.४ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसमा मोटर भने ७० किलोवाटको पाउन सकिन्छ । सानो ब्याट्रीको डब्लूएलटीपी रेन्ज २३७ किलोमिटर रहेको छ ।

टप भेरियन्ट ई-थ्रीमा भने ४२.३ किलोवाट आवरको ब्याट्री छ । मोटर भने ४९ किलोवाटको पाउन सकिन्छ । ठूलो ब्याट्री र सानो मोटर भएको टप भेरियन्टको रेन्ज भने ३१७ किलोमिटर आउने कम्पनीको दाबी छ ।


नामी-०१ ह्याचब्याक कारमा दिइएको भेहिकल स्टेबिलिटी एसिस्टेन्ससँग ईबीडीसहितको एबीएस, हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक्स स्टेवलिटी कन्ट्रोल, ब्रेक एसिस्ट, ट्रयाक्सन कन्ट्रोल र एडास लेभल टु पाउन सकिन्छ ।

स्लीक डिजाइन, सबै एलईडी लाइट, १७ इन्चको अलोय ह्वील, फ्लस ह्याण्डलबार, फ्रेमलेस डोर, ड्युल टोन बडी कलर उपलब्ध कारमा लग्जरी क्याबिन पाउन सकिन्छ । मेमोरीसहितको वेलकम सिट, लेदर र्याप स्टेरिङ ह्वील, १२.८ इन्चको एचडी स्क्रीन, वायरलेस चार्जर जस्ता फिचर यसमा पाउन सकिन्छ ।


पाँच इन्चको इन्फर्मेशन डिस्प्ले, ३२ कलरमा एम्बियन्ट लाइट उपलब्ध कारमा ३६० डिग्री क्यामेरा दिइएको छ । यसमा नर्मल, इको र स्पोर्टस् गरी तीन ड्राइभिङ मोड पाउन सकिन्छ ।

कहिले कति आयात ?

सन् २०२४ सेप्टेम्बरमा नेपाल आएको नामी-०१ उक्त वर्ष ३५४ युनिट आयात भएको थियो । सन् २०२५ मा कम्पनीले ५७६ युनिट आयात गर्दा सन् २०२६ को ४५ दिनमा ७० युनिट आयात गरेको देखिन्छ ।


उपभोक्ताले राम्रो प्रतिक्रिया दिएकै कारण आयात सुरू भएको १८ महिनामा नै यसको आयात हजार युनिट पूरा भएको कम्पनीको भनाइ छ ।

नामी ब्राण्ड लन्चिङसँग आयात सुरू भएको नामी-०१ पछि कम्पनीले अहिले नामी भिगो एसयूभी पनि बिक्री थालेको छ । यसको पनि अहिले राम्रो संख्यामा बिक्री हुँदै आएको छ ।


Back_to_top