काठमाडौं । पछिल्लो समय नेपालमा नेकेड स्पोर्ट मोटरसाइकलको लोकप्रियता बढ्दै गएको छ । शहर, हाइवे र अफरोड सबै यात्राका लागि उपयुक्त रहेकाले मुख्य गरी नेकेड बाइकले युवापुस्ताको मन जित्दै गएको हो ।
स्टाइलिस स्पोर्टी डिजाइन, एड्भान्स फिचरहरू, कम इन्जिन क्षमतामा पनि उच्च पावर, राम्रो टर्क, हाई एक्सेलेरेशन प्रदान गर्ने भएकाले नेकेड स्पोर्ट सेग्मेन्टका बाइकप्रति आकर्षण बढ्दै गएको हो ।
नेकेड स्पोर्ट बाइकमा पनि साना अर्थात् २०० सीसीका मोटरसाइकलको क्रेज धेरै छ । ठूला नेकेड बाइकको तुलानामा सानाको मूल्य केही सस्तो हुने भएकाले धेरैको पहुँचमा रहेका छन् ।
नेपालमा आधादर्जन बढी ब्राण्डका नेकेड मोटरसाइकल किन्न पाइन्छ । तर, २०० सीसी सेग्मेन्टमा भने ३ विकल्पमात्रै छन् । अर्थात् ती ब्राण्डका मोटरसाकल मात्रै उपलब्ध छन् ।
नेपाली बजारमा हाल २०० सीसीको नेकेड सेग्मेन्टमा बजाज, टीभीएस र केटीएमका मात्रै मोटरसाकइल किन्न पाइन्छ । यहाँ हामीले ती मोटरसाकइलको चर्चा गरेका छौं ।
पल्सर एनएस २००
नेपालमा बजाजको २०० सीसी नेकेड सेग्मेन्टमा पल्सर एनएस २०० मोडल उपलब्ध छ । बजाज पल्सर एनएस २०० सीसी सेग्मेन्ट मध्यको सबैभन्दा चर्चित पहिलो मोडल हो । बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले बिक्री गर्दै आइरहेको एनएस नेकेड स्पोर्टी लुक्समा छ । यसको नेकेड स्पोर्ट डिजाइन, बलियो पावरफुल इन्जिन र हाई पावरको अनुपातले युवालाई आकर्षित गरेको छ।

यसमा १९९.५ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, ट्रिपल स्पार्क इन्जिन छ । यो इन्जिनले अधिकतम २४.५ पीएस पावर र १८.७ एनएम टर्क जेनेरेट गर्छ । हाल कम्पनीले नेपालमा एनएस २०० लाई दुई भेरियन्टमा बिक्री गरिरहेको छ । यसको सुरूआती मूल्य ३ लाख ९३ हजार ९०० रुपैयाँ र टप भेरियन्टको मूल्य ४ लाख ५१ हजार ९०० रुपैयाँ रहेको छ ।
अपाचे आरटीआर २००
टीभीएसको नेपालमा नेकेड डिजाइनमा अपाचे आरटीआर २०० मोडल उपलब्ध छ । यो रेसिङ डीएनए पे्ररित भएका कारण धेरै युवाको रोजाइमा पर्न सफल भएको हो । यसको रेसिङ स्पोर्टी डिजाइन र ट्र्याक ट्युण्ड इन्जिनले निकै आकर्षित गर्छ ।
नेपालमा यसको बिक्री जगदम्बा मोटर्सले करिब ९ वर्ष अघि सुरू गरेको थियो । सार्वजनिक भएको पहिलो वर्षमै अपाचे आरटीआर २०० ठूलो संख्यामा बिक्री भएको मोडल पनि हो । त्यो समयमा कम्पनीले आरटीआर २०० मोडल करिब ७ हजार भन्दा बढि युनिट बिक्री गरेको थियो ।

आरटीआरमा १९७.७५ सीसीको सिंगल सिलिण्डर, आयल कुल्ड, रेस ट्युन्ड एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम २०.८ पीएस पावर र १७.२५ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा टीभीएस आरटीआर २०० मोटरसाइकलको दुई भेरियन्ट उपलब्ध छ । जसको मूल्य क्रमशः ३ लाख ९३ हजार ९०० र ३ लाख ९९ हजार ९०० रुपैयाँ छ ।
केटीएम ड्युक २००
केटीएमको नेपालमा नेकेड डिजाइनमा ड्युक २०० मोडल उपलब्ध छ । नेपालमा ड्युक ब्राण्ड र लुक्सका कारण युवा माझ चर्चित छ । ड्युक २०० स्ट्रिटफाइटर नेकेड डिजाइनमा छ । यसको एग्रेसिभ लुक्स र कलर ग्रफिक्सले पनि युवालाई आकर्षित बनाउँछ ।
नेपालमा केटीएमको मोटरसाइकल हंसराज हुलासचन्द एण्ड कम्पनीले नै बिक्री गर्छ । ड्युक २०० मा १९९.५ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, एफआई इन्जिन छ ।

नेपालमा प्रिमियम मोटरसाइकलको रूपमा स्थापित केटीएम ड्युक २०० मोटरसाइकलको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । मूल्यका हिसाबले हेर्दा ड्युक २०० अन्य दुई मोडल भन्दा निकै महँगो छ । ब्राण्ड भ्यालु र नन एसेम्बल इम्पोर्टले गर्दा यसको मूल्य बढी पर्न गएको हो ।
निष्कर्ष
यी तीनै ब्राण्डका नेकेड बाइक मूल्य, पावर र फिचरका आधारमा उत्कृष्ट नै छन् । तीनै मोडलमा डिजिटल डिस्प्ले, कनेक्ट सिस्टम, एबीएस सिस्टम, हाईटेक इन्जिन प्रविधि, पूरा एलईडी लाइट सेटअप लगायत हाइटेक फिचरहरू पाइन्छ । तीन वटैमा आरामदायी यात्राका लागि एड्जस्टेबल सस्पेन्सन सेटअप, अलोय ह्वील, ट्युबलेस टायर, ठूलो इन्धन ट्याकं छ ।
तीन वटै मोटरसाइकलमा खासै ठूलो भिन्नता छैन । पावरमा एनएस र ड्युक थोरै अगाडि छन् । आरटीआरमा सस्तो मूल्यमा पनि धेरै फिचर उपलब्ध छन् । यी तीन मध्ये कुन उपयुक्त भन्ने तपाईंको आवश्यकता, बजेट र रोजाइमा भर पर्नेछ ।

