काठमाडौं । मित्शुवीसीको प्लगइन हाइब्रिड एसयूभी आउटल्याण्डर निकै चर्चामा रहेको गाडी हो । नेपाली बजारमा यसअघि बिक्री हुँदै आएको आउटल्याण्डरको समान साइजमा आएको प्लगइन हाइब्रिड गाडी नेपाली बजारमा ल्याउने तयारी भइरहेको जनाइएको छ ।
मित्शुवीसीको आधिकारीक वितरक लियोन मोटर्सले यसलाई नेपाली बजारमा ल्याउने प्रकृया अगाडि बढाएको जानकारी कम्पनीका प्रबन्ध निर्देशक आशीष श्रेष्ठले दिए ।
‘हामीले जापानमा कम्पनीसँग यसलाई नेपाली बजारको लागि दिन आग्रह गरेका छौं । कम्पनीले यही जनवरी महिना भित्रमा टुङ्गो लगाउने जानकारी दिएको छ । सायद अबको केही महिनामा नेपाली सडकमा मित्शुवीसीको प्लगइन हाइब्रिड कार गुड्ने छ’, श्रेष्ठले मेरोअटोसँग भने ।
प्लग इन हाइब्रिड टेक्नोलोजी केही महंगो भएपनि सरकारले भन्सार दस्तुरमा ५० प्रतिशत छुट दिएकाले यसको मूल्य रेगुलर मोडलको भन्दा केही मात्र महंगो हुने अनुमान गरिएको छ ।
अहिले बजारमा बिक्री भइरहेको मित्शुवीसी आउटल्याण्डरको मूल्य १ करोड २८ लाख रुपैयाँ रहेको छ ।
यस्तो छ हाइब्रिड आउटल्याण्डर

‘प्लग इन हाइब्रिड’ आउटल्याण्डरमा रहेको १२ किलोवाट क्षमताको लिथियन आयोन व्याट्री दिइएको छ । उक्त व्याट्रीलाई फार्स्ट डिसी चार्जरले चार्ज गर्दा २५ मिनेटमा ८० प्रतिशत चार्जगर्न सकिने कम्पनीले जनाएको छ । यसलाई इलेक्ट्रीक मोडमा चलाउँदा एक पटकको फुल चार्जमा ४० किलोमिटर चलाउन सकिन्छ ।
आउटल्याण्डर हाइब्रिड कारमा ८ इन्चको स्मार्टफोन लिंक डिस्प्ले सिस्टम, अटोमेटिक हाइबीम, पावर ड्राइभर लम्बार सपोर्ट, सबै किसिमका लाइट एलइडी, पावर सनरुफ, मल्टी भ्यू क्यामेरा, हिटेड स्टेरिङ ह्वील जस्ता फिचर उपलब्ध रहेको छ ।
यसमा २.० लिटर १९९८ सीसी क्षमताको माइभ डिओएचसी, १६ भल्भ, ४ सिलिण्डर इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले ४५०० आरपीएममा ११७ बीए पावर र ४५०० आरपीएममा १८५ एनएम टर्क प्रदान गर्छ । इभी मोडमा चलाउदा भने ९३ बीएच पावर प्रदान गर्छ । यो गाडी फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुबै अप्सनमा उपलब्ध रहेको छ ।
सुरक्षाको लागि गाडीमा एबीएस, इबीडी, अटो होल्डको साथ इलेक्ट्रोनिक पार्किङ ब्रेक, एक्टिभ स्टेविलिटी कन्ट्रोल, हिल एसिस्ट, टायर प्रेसर मोनिटर, क्रुजकन्ट्रोल, व्लाइन्ड स्पर्ट वार्निङ, चेन्ज एसिस्ट, विभिन्न स्थानमा एयरव्याग, सिट वेल्ट वार्निङ, चाइल्ड सेफ्टी डोर लक जस्ता विशेषता यसमा रहेको छ ।

