मारुती सुजुकीको चर्चित इको भ्यान नयाँ मापदण्डको इन्जिनको साथ भारतमा सार्वजनिक भएको छ । यद्यपी कम्पनीले आफ्नो कार्गो भ्यान ओम्नीको भने उत्पादन बन्द गर्ने घोषणा गरिसकेको छ । नयाँ इन्जिनमा आएसँगै कम्पनीले यसको मूल्यसमेत बढाएको छ ।
भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा सार्वजनिक भएको इको भ्यानको भारतमा २० देखि ३० हजारसम्म मूल्य बढेको छ । यसले नेपाली बजारमा यसको मूल्य करिब १ लाख रुपैयाँ हाराहारीमा बढ्ने निश्चित भएको छ ।
मारुती सुजुकीले बीएस ६ मापदण्डमा ल्याएको इको ९ औं मोडल हो । यसअघि कम्पनीले अल्टो, बलेनो, एक्सएल ६, स्वीफ्ट, सियाज, एसक्रस, एर्टिगा लगायतका मोडललाई बीएस ६ मा ल्याई सकेको छ ।
नयाँ इन्जिनले पहिलेको तुलनामा अधिक माइलेज दिने कम्पनीले दाबी गरेको छ । साथै उक्त इन्जिनले ७३ एचपी पावर र ९८ एनएम टर्क प्रदान गर्नेछ । टर्क भने पहिले भन्दा केही कम भएको छ ।
नेपाली बजारमा अहिले इको मोडलको बीएस ४ मोडल अफिस प्रयोजनको लागि निकै चर्चित रहेको छ ।

