१५० सीसीमा उत्कृष्ट माइलेज दिने ५ मोटरसाइकल

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने सेग्मेन्टमा १५० सीसी सेग्मेन्टका मोटरसाइकल पर्ने गर्छन् । यस सेगमेन्टमा बजाजले पल्सर १५०, यामाहाले एफजेड भि २ र भि ३, टीभीएसले आरटीआर १६०, होन्डाले यूनिकर्न र एक्सव्लेड तथा सुजुकीले जिक्सर १५५ बिक्री गर्दै आएको छ ।

यसका अलावा अन्य थुप्रै कम्पनीले यो सेग्मेन्टमा नेकेड मोटरसाइकलको बिक्री वितरण गर्दै आएका छन् । यस्तोमा हामीले यहाँ कुन ब्राण्डको कुन मोटरसाइकलले धेरै माइलेज दिन्छ भन्ने विषय उल्लेख गर्न खोजेका छौं ।

एउटा मोटरसाइकलको जिवनमा त्यसको खरिद मूल्यभन्दा धेरै खर्च इन्धनमा हुन्छ । त्यसैले यदि तपाई धेरै माइलेज दिने मोटरसाइकल खोज्दै हुनुहुन्छ भने यी ५ मोडल तपाईको छनोटमा पर्न सक्छन् ।

१. सुजुकी जिक्सर

जापानी अटो कम्पनी सुजुकीको नेपालको लागि आधिकारीक वितरक सुजुकी भिजीले जिक्सर १५५ को नयाँ मोडल नेपालमा बिक्री सुरु गरकोे छ । नाडा अटो शो २०१९ बाट बिक्री सुरु भएको सुजुकी जिक्सर १५० उत्कृष्ट माइलेज दिने मोटरसाइकलमा पर्छ ।

जिक्सरमा दिइएको १५५ सीसी एफआई इन्जिनले ६२ देखि ६४ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । उक्त इन्जिनले ८००० आरपीएममा १४.१ पीएस पावर, ६००० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले उल्लेख गरेको छ । यो मोटरसाइकललाई सुरक्षीत बनाउन कम्पनीले दुबै चक्कामा डिस्क ब्रेक दिएको छ भने, सिंगल च्यानल एबीएस पनि उपलब्ध रहेको छ ।

यसको नेपाली बजारमा मूल्य ३ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।

२. होन्डा यूनिकर्न

होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नयाँ यूनिकर्न १५० नेपाली बजारमा पुनः ल्याएको छ । कम्पनीले यसअघि बिक्री बन्द गरेको यूनिकर्न पुनः नेपाल ल्याएको हो । १४९.१ सीसी, एयरकुल्ड इन्जिनमा आएको यो मोटरसाइकलले ६२ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ । यसमा दिइएको इन्जिनले ८००० आरपीएममा १३.३ पीएस पावर र ५५०० आरपीएममा १२.८ एनएम टर्क प्रदान गर्छ । मोटरसाइकलको अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ ।

कम्पनीले यसलाई नेपाली बजारमा २ लाख ५९ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेको जनाएको छ ।

३. बजाज पल्सर १५०

नेपालमा सर्वाधिक बिक्री हुने १५० सीसी सेगमेन्टको मोटरसाइकल हो बजाज पल्सर १५० । यो मोटरसाइकल पावर, मूल्य र माइलेजका कारण सधै सर्वाधिक बिक्री हुने सूचीको पहिलो स्थानमा पर्न सफल भएको हो ।

यसमा दिइएको १४९ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले ९००० आरपीएममा १५.६ पीएस पावर र ७५०० आरपीएममा १२.५ एनएम टर्क प्रदान गर्ने जनाइएको छ । कम्पनीले यसलाई सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएको । यो मोटरसाइकलले प्रतिलिटर ६५ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले सिंडल डिस्क भेरियन्टको २ लाख ५३ हजार ९०० र डबल डिस्क भेरियन्टको २ लाख ६४ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको छ ।

४. टीभीएस आरटीआर १६०

रेसिङ डिएनए भनेर चर्चित रहेको टीभीएस आरटीआर १६० नेपाली बजारमा जगदम्बा मोटर्सले बिक्री गर्दै आएको छ । उत्कृष्ट पावरको साथ राम्रो माइलेज प्रलान गर्ने यो मोटरसाइकल नेपालमा निकै रुचाइने मोडल हो ।

१६० सीसी एयरकुल्ड इन्जिन रहेको यो मोटरसाइकलले ५४ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने जनाइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १५ एचपी पावर र ६५०० आरपीएममा १३.०३ एनएम टर्क प्रदान गर्छ । यस मोटरसाइकलको अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । यसलाई कम्पनीले २ लाख ५६ हजार ९०० रुपैयाँ मूल्य तोकेर बिक्री गरिरहेको छ ।

५. यामाहा एफजेड भी३

अहिले बजारको हटकेक बनिरहेको यो सेग्मेन्टको मोटरसाइकल एफजेड भी३ माइलेजको मामलामा पनि राम्रो रहेको छ । यसले ४५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।

यामाहाको लागि नेपालको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले बिक्री गरिरहेको यो मोटरसाइकलमा १४९ सीसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १३.२० बीएच पावर, ६५०० आरपीएममा १२.१ एनएम टर्क, दुबै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएसमा उपलब्ध यो मोटरसाइकलको मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

यो सबै माेटरसाइकलकाे प्रतिलिटर माइलेज एआरएआईले प्रमाणित गरेको रिर्पोटको आधारमा रहेको छ ।


Back_to_top