काठमाडौं । सन् २०२५ (जनवरी-डिसेम्बर १५ सम्म)मा प्यासेन्जर कार आयातमा सामान्य वृद्धि भएको छ । सन् २०२४ को तुलनामा यस वर्ष कार आयात ५.३४ प्रतिशतले बढेको हो ।
सन् २०२५ को साढे ११ महिनामा कुल १४ हजार ५१८ युनिट कार (ईभी र पेट्रोल) आयात भएको छ । यो गत वर्षकोभन्दा ७३६ युनिट धेरै हो । सन् २०२४ मा कुल १३ हजार ७८२ युनिट कार आयात भएको थियो ।
सन् २०२५ को १५ दिनको तथ्यांक आउन बाँकी छ । तर, अधिकांश व्यवसायीले डिसेम्बर अन्तिममा कार आयात गर्दैनन् । ल्याए पनि अति न्यून संख्यामा ल्याउँछन् । त्यसैले यस वर्ष आउने कारको संख्या लगभग यति नै हो ।
चालु आर्थिक वर्षमा अटो बजार क्रमशः चलायमान हुँदै जाँदा कार आयात पनि बढेको हो । साथै, व्यवसायीले चालु आव २०८२/८३ को बजेट अघि कर बढ्ने हल्लाका ठूलो संख्यामा कार ल्याएकाले आयात बढ्न सहयोग पुगेको हो ।
यस वर्ष ईभी र आइस दुवै कार आयात बढेकाे छ । वृद्धिदर भने ईभीको तुलनामा कम्बस्चनको धेरै छ । बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो ।
सन् २०२५ साढे ११ महिनामा १० हजार ६१२ युनिट ईभी र ३ हजार ९०६ युनिट आइस कार भित्रिएका छन् । सन् २०२४ को तुलनामा आइस कार आयात ९.४४ प्रतिशत र ईभी ३.९१ प्रतिशतले बढेको छ । गत वर्ष १० हजार २१३ युनिट ईभी र ३ हजार ५६९ युनिट पेट्रोल कार आयात भएको थियो ।
कुन महिना कति कार आए ?
सन् २०२५ मा मासिक औसतमा १२१० युनिट कार आयात भएको छ । जसमा मे महिनामा सबैभन्दा धेरै ४ हजार ५०१ युनिट कार आयात भएको छ ।
बजेटमा ईभीको कर बढ्ने हल्लाका कारण व्यवसायीले एकैपटक ठूलो संख्यामा कार ल्याएका थिए । यद्यपि, बजेटमा करको दर स्थिर राखिएको थियो । व्यवसायीले ल्याएका ती गाडी अझै स्टकमा छन् ।
त्यस्तै, सेम्टेम्बर महिनामा दोस्रो धेरै २ हजार १३८ युनिट कार आयात भएको छ । व्यवसायीले दशैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै कार आयात गरेका हुन् ।
त्यसैगरी, अक्टोबर, मार्च र अप्रिल महिनामा पनि १ हजारभन्दा बढी युनिट कार आयात भएको छ । यी महिनामा क्रमशः १०८०, १०५० र १३९८ युनिट कार भित्रिएका छन् ।
त्यस्तै, जनवरीमा ७४७ युनिट, फेब्रुअरीमा ८२५ युनिट, अगस्टमा ८१७ युनिट, नोभेम्बरमा ८६२ युनिट कार आयात भएको छ । यस वर्ष जुन र जुलाइमा सबैभन्दा कम ३३६ र ३९४ युटि कार आयात भएको छ । व्यवसायीले बजेट अघि ठूलो संख्यामा कार ल्याएकाले यी महिनामा कम आयात गरेका हुन् । डिसेम्बरको १५ दिनमा ३७० युनिट कार भित्रिएको तथ्यांक छ ।

