उपत्यकामा उद्योगले भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण !

ललितपुर ।  काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ । 

वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको हो । हावामा कुन–कुन ग्यासको मात्रा कति छ भनेर जान्नका लागि गत वर्ष रत्नपार्कमा उपकरण जडान गरिएको थियो । त्यसमा गाडीले फाल्ने धुवाँ बढी पाइएको हो । विभागका उप-महानिर्देशक सफला श्रेष्ठ भन्छिन्, “हामीले जडान गरिएको उपकरणले देखाएको नतिजा सार्वजनिक गरेका हौं ।” 

उनका अनुसार यो नतिजाका आधारमा अब समाधान खोज्न लाग्नुपर्छ । 

फरक-फरक संस्थाले वायु प्रदूषणमा कुन-कुन क्षेत्रको योगदान के कति रह्यो भन्ने विषयमा फरक फरक आँकडा प्रस्तुत गर्दैआएका छन् । एकीकृत तथ्यांकका लागि इसिमोड संस्थासँगको सहकार्यमा विभागले उपकरण जडान गरेको हो । 

विभागले काठमाडौँं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा वायुको अवस्थाबारे जानकारी दिने उपकरण (वायु गुणस्तरमापन स्टेशन) बनाएको छ । यसले काठमाडौँ उपत्यका भन्दा लुम्बिनी क्षेत्रमा बढी वायु प्रदूषित भएको देखाएको छ । उपत्यका बाहिरका पोखरा, धुलिखेल, सौराहा भन्दा काठमाडौँको वायु बढी प्रदूषित छ । 


Back_to_top