यी हुन् दशैंमा धेरैले रुचाएका ५ कार

काठमाडौं । दशैंमा गाडी विक्रीमा साना एसयूभीले रेकर्ड बनाएका छन् । विभिन्न कम्पनीले दशैंमा करिब ३ हजार यूनिट एसयूभी विक्री गरेका थिए ।

निसान, रेनो, हुन्डाई, एमजी र मारुती सुजुकीले रेकर्ड विक्री गर्न सफल भएका छन् । कम्पनीहरुले माग अनुसारको गाडी सप्लाई दिन नसकेपनि राम्रै यूनिट विक्री गर्न सफल भएका हुन् ।

दशैंमा सर्वाधिक विक्री भएको मोडल निसान म्याग्नाइट भएको छ । कम्पनीले करिब ५०० यूनिट हाराहारी म्याग्नाइट विक्री गर्न सफल भएको थियो । त्यति नै संख्यामा हुन्डाई भेन्यू, मारुती सुजुकी ब्रेजा र करिब ३ सय यूनिटभन्दा बढी रेनो काइगर र एमजी इजेडएस पनि विक्री भएको थियो ।

यसको अलावा हुन्डाई क्रेटा, किया सेल्टोस पनि राम्रो संख्यामा विक्री भएको थियो । सामान्य समयमा पनि माग अनुसार आपूर्ति हुन नसकेको हुन्डाई क्रेटा अझै चार महिना हाराहारीको बुकिङ रहेको कम्पनीको भनाई छ ।

गाडी सप्लाईको समस्या टाटा नेक्सन, किया सोनेटमा पनि परेको थियो भने फोर्ड इकोस्पोर्टको आयत बन्द हुँदा त्यसको फाइदा अन्य मोडलले पाएका थिए ।

बजारमा विक्री भएका सब फोर मिटर एसयूभी म्याग्नाइट, भेन्यू, काइगर र ब्रेजा यसअघि पनि राम्रो संख्यामा विक्री हुँदै आएको मोडल हुन् । मूल्यको हिसावले पनि यी गाडी ३० लाखदेखि ५० लाख भित्रकै मूल्यमा पाइने भएकाले ग्राहकले धेरै रुचाएका हुन् ।

निसान म्याग्नाइट नेपाल आएदेखि नै राम्रो संख्यामा विक्री हुँदै आएको मोडल हो । त्यसैगरी केही महिना अघि नेपाल आएको रेनो काइगरले पनि राम्रो बजार पाइरहेको छ । यी दुबै एसयूभीको मुख्य आकर्षण मूल्य थियो ।

एमजीले इलेक्ट्रीक एसयूभी इजेडएस पनि निकै राम्रो संख्यामा विक्री गर्दै आएको छ । नेपालमा विक्री हुने सर्वाधिक सफल इलेक्ट्रीक मोडल इजेडएस नेपाल आउन थालेसँगै राम्रो विक्री हुँदै आएको छ । कम्पनीको अनुसार आयात भएको सबै मोडल विक्री भएको कम्पनीले जनाएको छ ।

हुन्डाई भेन्यू नेपालमा विक्री सुरु भएको दुई वर्षभन्दा धेरै भइसकेको छ । सुरुवात देखिनै औषत विक्री हुँदै आएको मोडल यसवर्ष निकै राम्रो संख्यामा विक्री भएको छ । कम्पनीले एस प्लस भेरियन्ट नेपाल ल्याएसँगै भेन्यूको विक्री बढेको हो ।

मारुती सुजुकी ब्रेजा पेट्रोल इन्जिनमा आएदेखि नै सर्वाधिक विक्री हुने सब फोर मिटर एसयूभी बन्दै आएको छ । १.५ लिटर क्षमताको पेट्रोल इन्जिनको कारण यसलाई चाहने ग्राहक धेरै थिए । यस वर्षको दशैंमा ब्रेजाको सप्लाईमा खासै समस्या थिएन भने राम्रो संख्यामा विक्री भएको थियो ।


Back_to_top