काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन-मंसिर)मा मोटर बीमा गराउनेको संख्या बढेको छ । गत आवको ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मोटर बीमा गराउनेको संख्या २५ हजार १३९ वटाले बढेको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ५ महिनामा कुल ६ लाख ६३ हजार १०२ वटा मोटर बीमालेख (पोलिसी) जारी भएका छन् । समीक्षा अवधिमा मोटर बीमा गराउनेको संख्या ३.९४ प्रतिशतले बढेको हो । गत वर्ष कात्तिकसम्म कुल ६ लाख ३७ हजार ९६३ वटा मोटर बीमा पोलिसी जारी भएको थियो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मोटर बीमा गराउनेको संख्या ह्वात्तै बढेको तथ्यांकले देखाउँछ । आन्दोलनका क्रममा साढे १२ हजार सार्वजनिक र निजी सवारी जलेर खरानी भएका थिए । तर, सबै सवारीको बीमा नहुँदा २ हजार ३०० वटाले मात्र क्षतिपूर्ति दाबी गरेका छन् । आन्दोलनका कारण ठूलो क्षति व्यहोर्नुपरेपछि सवारीधनी केही सचेत भई बीमा गराउन थालेको तथ्यांकले देखाउँछ ।
बीमा कम्पनीहरूले कम्प्रिहेन्सिभ र थर्ड पार्टी मोटर बीमा गर्दै आएका छन् । कुल संख्यामध्ये कति कम्प्रिहेन्सिभ र कति थर्ड पार्टी भन्ने प्राधिकरणले खुलाएको छैन । यद्यपि, दुईतिहाई बढी हिस्सा थर्ड पार्टीको हुने बीमकहरू बताउँछन् ।
५ महिनामै खर्चिए झण्डै ७ अर्ब
चालु आवमा मोटर बीमा पोलिसीको संख्या बढेसँगै प्रिमियम रकम पनि बढेको छ । ५ महिनामै सवारीधनीले आफ्नो साधन बीमा गर्नका लागि पौने ७ अर्ब रुपैयाँ खचिएका छन् ।
५ महिनामा निर्जीवन बीमा कम्पनीहरूले मोटर बीमा बापत ६ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ प्रिमियिम संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ९२ करोड रुपैयाँ धेरै हो । गत वर्ष ५ महिनामा मोटर बीमाबाट ५ अर्ब ६१ करोड १८ लाख रुपैयाँ प्रिमियम संकलन भएको थियो ।
सवारीधनीले आफ्नो सवारी साधनको सुरक्षणका लागि मोटर बीमा गर्छन् । सवारी साधन चलाउने क्रममा हुने सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, पहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपबाट हुने क्षतिबाट बच्न मोटर बीमा गरिन्छ ।
हाल कम्पनीहरूले थर्ड पार्टी र कम्प्रिहेन्सिभ मोटर बीमा गर्छन् । सवारी साधनले तेस्रो पक्षलाई पुर्याउने हानी नोक्सानीबाट बच्न थर्ड पार्टी पनि मोटर बीमा गर्छन् । यो सवारी नवीकरण गर्नका लागि अनिवार्य छ ।
कम्प्रिहेन्सिभ मोटर बीमा भने स्वेच्छिक छ । सवारीधनीले आफ्नो इच्छा अनुसार गराउन सक्छन् । यो बीमा गर्दा सवारीमा साधनमा क्षति पुने क्षतिपूर्ति पाइन्छ । यद्यपि, किस्ताबन्दीमा किन्ने सवारी साधनमा भने कम्प्रिहेन्सिभ बीमा अनिवार्य छ ।

