काठमाडौं । अहिले सवारी साधन किन्न पूरै पैसा आफूसँग हुन आवश्यक पर्दैन । किनभने बैंक तथा वित्तीय संस्थाहरूले कर्जा उपलब्ध गराई तपाईंंको गाडी चढ्ने सपना पूरा गरिदिन्छन् । सवारी कर्जा ७ वर्षसम्मका लागि पाइन्छ । यद्यपि, तपाईंंको किस्ता तिर्नसक्ने क्षमता भने हुनुपर्दछ ।
नेपाल राष्ट्र बैंकको हालको व्यवस्था अनुसार सवारी साधन खरिदका लागि ६० प्रतिशतसम्म ऋण पाइन्छ । ४० प्रतिशत डाउन पेमन्ट बुझाउनुपर्छ ।
किस्ताबन्दीमा सवारी खरिद गर्दा ब्याजदरमा दुई विकल्प पाइन्छ । बैंकहरूले सवारी किन्ने ग्राहकलाई स्थिर (फिक्स्ड) र परिवर्तनशील (फ्लोटिङ) दुवै ब्याजदरमा कर्जा उपलब्ध गराउँछन् । कुन ब्याजदरमा कर्जा लिने ग्राहक स्वयम्को रोजाइ हो ।
स्थिर ब्याजदर प्रयोगमा आएको ५ वर्ष मात्र भएको छ । नेपाल राष्ट्र बैंकले २०७७ कात्तिकदेखि कार्यान्वयनमा ल्याएको थियो । यस ब्याजदरमा कर्जा लिँदा कर्जा अवधिभर ब्याजदर एउटै रहन्छ । अर्थात् तपाईंंले पूरै ऋण नतिरुन्जेलसम्म एउटै ब्याजदर तिर्नुपर्छ । बैंकको ब्याजदर बढे/घटे पनि तपाईंंलाई असर गर्दैन् । मासिक किस्ता पनि एउटै हुन्छ ।
तपाईंंलाई आफ्नो मासिक आम्दानीबाट ठ्याक्कै यति रकम किस्ता तिर्नुपर्छ भन्ने पहिल्यै थाहा हुन्छ । जसले भविष्यका आर्थिक योजना बनाउन समेत सहयोग गर्छ । यद्यपि, स्थिर ब्याजदर परिवर्तनशीलभन्दा केही महँगो हुन्छ । बजारमा ब्याजदर घट्दो ट्रेन्डमा छ भने घाटा लाग्न सक्छ । ब्याजदर बढ्दो क्रममा रहेका बेला फाइदा हुन्छ ।
हाल बैंकहरूले कर्जा अवधिका आधारमा ९ देखि ११ प्रतिशतको स्थिर ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेका छन् ।
त्यस्तै, परिवर्तनशील ब्याजदर प्रणाली वषौंदेखि प्रयोगमा छ । यसमा बैंकहरूले आफ्नो बेसरेटमा निश्चित प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्छन् ।
यसमा बजार ब्याजदर घट्दा घट्ने र बढ्दा बढ्ने हुन्छ । सुरूमा ऋण लिँदा यो फिक्स्डभन्दा केही सस्तो हुन्छ । तर, बजारमा तरलता अभाव भई ब्याजदर बढ्दै गएमा तपाईंंको ब्याजदर पनि बढ्छ । यसले मासिक किस्ता पनि बढाउँछ । तपाईंंको निश्चित आम्दानी छ भने मासिक किस्ता ठ्याक्कै यति हुन्छ भन्ने निश्चित नहुने भएकाले आर्थिक भार थपिन्छ ।अहिले बैंकहरूले ६.५/७ प्रतिशत हाराहारीमै अटो कर्जा दिइरहेका छन् ।
उदाहरणका लागि तपाईंले ५० लाख रुपैयाँ पर्ने एउटा कार किन्दै हुनुहुन्छ । सुरूमा ४० प्रतिशत अर्थात २० लाख रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ । बाँकी ३० लाख रुपैयाँ कर्जा लिनुपर्छ ।
५ वर्षका लागि स्थिर ब्याजदरमा कर्जा लिँदा मासिक ६३ हजार हाराहारी किस्ता तिर्नुपर्छ । यस अवधिमा तपाईंंले लाख ८ लाख ५० हजार रुपैयाँ बढी ब्याज तिर्नुपर्छ ।
परिवर्तनशील ब्याजदरमा कर्जा लिने हो भने अहिले मासिक ६० हजार रुपैयाँ हाराहारी मात्रै किस्ता पर्छ । तर, २ वर्षपछि यदि बैंकको बेसरेट बढ्यो भने ब्याजदर पनि बढ्छ । मानौं सो बेला १२ प्रतिशत पुग्यो भने बाँकी ३ वर्ष सोही वा सोभन्दा बढी प्रतिशत ब्याज तिर्नुपर्छ । ५ वर्षे अवधिमा २ वर्ष सस्तो परे पनि ३ वर्ष महँगो पर्छ । सो बेला किस्ता रकम बढेर ६५ हजारभन्दा बढी पुग्छ । ५ वर्षको अवधिमा ९ लाख जति ब्याज पर्न जान्छ ।
कुन ब्याजदरमा किन्दा फाइदा ?
नेपालमा अहिले बैंकको ब्याजदर एकदशकै यताकै सस्तो छ । प्रणालीमा अधिक तरलता र कर्जाको माग न्यून रहेकाले अझै एक/डेढ वर्ष ह्वात्तै बढिहाल्ने अवस्था देखिँदैन । यस्तोमा तपाईंंले २/३ वर्षभन्दा कम अवधिको लागि कर्जा लिँदै हुनुहुन्छ भने परिवर्तनशील ब्याजदरमा कर्जा लिँदा फाइदा देखिन्छ ।
किनभने अहिले अधिकांश बैंकको बेसरेट ६ प्रतिशतभन्दा कम र कर्जाको औसत ब्याजदर ७.५ प्रतिशत हाराहारी छ । अझ बार्गेनिङ गर्न सक्ने ग्राहकले बेसरेटमा ०.५/१ प्रतिशत प्रिमियमै ऋण पाउने अवस्था छ । सो अनुसार ग्राहकले ६ देखि ७ प्रतिशतकै बीचमा अटो कर्जा पाउने देखिन्छ । यद्यपि, बेसरेट हरेक महिना परिवर्तन भइरहन्छ । ३ महिनाको औसत बेसरेटमा प्रिमियम जोडर तपाईंंको कर्जामा हिसाब हुन्छ ।
यदि ५ वर्षभन्दा बढी समयका लागि कर्जा लिँदै हुनुहुन्छ भने स्थिरब्याजदर नै उपयुक्त देखिन्छ । किनभने अहिले कर्जाको ब्याजदर निकै तल्लो स्तरमा आएको छ । यहाँभन्दा खासै धेरै घट्ने ठाउँ देखिँदैन । आगामी दिनमा अर्थतन्त्र चलायमान हुँदै जाँदा कर्जाको माग बढ्ने र ब्याज पनि उकालो लाग्न सक्छ । ३/४ वर्षअघि कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको थियो । १/२ वर्षमै सो बिन्दुमा नपुगे पनि केही वर्षपछि पुनः बढ्न सक्ने देखिन्छ । सोबेला फ्लोटिङभन्दा फिक्स्ड ब्याजदर निकै सस्तो पर्न जान्छ ।
कुन ब्याजदरमा ऋण लिने भन्ने तपाईंंको आफ्नो इच्छामा भर पर्छ ।

