काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी बीवाइडीले तेस्रो जेनेरेसनको एटो थ्री (युवान प्लस) सार्वजनिक गरेको छ । कम्पनीले आजदेखि सुरू भएको २०२६ बेइजिङ अटो शोमा नयाँ एटो थ्री सार्वजनिक गरेको हो ।
बीवाइडीले नयाँ एटो थ्री हालकोभन्दा धेरै कुरा परिवर्तन गरेर ल्याएको छ । कम्पनीले यसको साइज बढाउनुका साथै नयाँ डिजाइन, नयाँ प्रविधि, नयाँ ब्याट्री, नयाँ ड्राइभिङ सिस्टममा ल्याएको छ । नयाँ एटो थ्रीमा रियर ह्वील ड्राइभ प्लेटफर्म, दोस्रो पुस्ताको ब्लेड ब्याट्री र अत्याधुनिक फ्ल्यास चार्जिङ सुविधा प्रयोग गरिएको छ ।
यसको अगाडिको भागमा चाँदी जस्तै चमक भएको ग्रिल र पातला आकर्षक हेडलाइटहरू छन् । बम्परको दुवै छेउमा हावा छिर्ने भेन्टहरू र बीचमा कुलिङ ग्रिल राखिएको छ । गाडीको पछाडिको भागमा दुई खण्डमा बाँडिएको ब्रेक लाइट र वाइपर रहेको छ । यसको टेललाइटहरू एकै ठाउँमा जोडिएर वारपार देखिने गरी बनाइएको छ, जसले गर्दा गाडी निकै आधुनिक देखिन्छ ।
नयाँ एटो थ्रीको क्याबिन थप व्यवस्थित, सफा र सरल देखिन्छ । यसको इन्टेरियमा ठूलो फ्लोटिङ टचस्क्रीन, एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, हेड अप डिस्प्ले, टु स्पोक स्टेयरिङ ह्वील, सेन्टर टनेलमा दुई वायरलेस फोन चार्जर, १६ स्पीकरहरू, बिल्ट–इन रेफ्रिजरेटर लगायत फिचर छ ।

नयाँ एटो थ्रीको लम्बाइ ४६६५ एमएम, चौडाइ १८९५ एमएम र उचाइ १६७५ एमएम छ । यसमा २७७० एमएमको ह्वीलबेस रहेको छ । यो हालको एटो थ्रीभन्दा निकै ठूलो हो । यसकाे साइज हालकोभन्दा २१० एमएम लामो, २० एमएम चौडा र ६० एमएम अग्लो भएकाे छ ।
नयाँ एटो थ्रीमा ५७.५४ किलोवाट आवर वा ६८.५५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । जसले एकपटकको फूल चार्जमा क्रमशः ५४० किमी र ६३० किमी रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । नयाँ एटो थ्री २०० किलोवाट र २४० किलोवाटको दुई मोटर अप्सनमा उपलब्ध छ ।

दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रविधिले गर्दा यसको चार्जिङ क्षमता निकै प्रभावशाली छ । फ्ल्यास चार्जिङ प्रविधिका कारण यो गाडी मात्र ५ मिनेटमा १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज हुन सक्छ भने ९ मिनेटमा १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज हुन सक्छ । माइनस ३० डिग्री सेल्सियसमा पनि यसको चार्जिङ समय सामान्यभन्दा ३ मिनेट मात्र बढी लाग्नेछ ।
नयाँ एटो थ्रीमा १८ र १९ इन्चका ह्वील प्रयोग गरिएको छ । यसमा सेमि हिडन डोर ह्याण्डलहरू र ग्राहकको चाहना अनुसार रङ छान्न मिल्ने डी पिलर प्यानलहरू रहेका छन् ।
एटो थ्री नेपालमा पनि निकै चर्चित मोडल हो । बीवाइडीका गाडी साइमेक्स इंकले बिक्री गर्दै आएको छ ।

