सडक ‘टोल’ तिर्ने कार्ड जारी गर्न राष्ट्र बैंकको अनुमति

सांकेतिक तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सडक उपभोग दस्तुर (टोल) संकलन गर्न प्रिपेड कार्ड जारी गर्न अनुमति दिएको छ । राष्ट्र बैंकले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८२’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार अब वाणिज्य बैंकहरूले सरकारले तोकेका सडकमा गुड्ने सवारी साधनले सडक उपभोग दस्तुर तिर्न आरएफआइडी चिप बेस्ड प्रिपेड ट्याग/कार्ड जारी गर्न सक्नेछन् ।

‘अनुमतिपत्रप्राप्त क वर्गका वाणिज्य बैंकले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरूमा चल्ने सवारी साधनहरूबाट सडक उपभोग दस्तुर (Toll Fee) संकलन गर्ने प्रयोजनका लागि RFID Chip Based Prepaid Tag/Card जारी गर्न सक्नेछन्,’ जारी निर्देशनमा भनिएको छ ।

यो कार्डले सडक टोल संकलन कार्यलाई डिजिटल बनाउनुका साथै सहज समेत बनाउने छ । यो कदमले नेपालको सडक यातायात क्षेत्रमा हुने वित्तीय कारोबारलाई डिजिटल, पारदर्शी र छरितो बनाउने राष्ट्र बैंकको विश्वास छ ।

सरकारले हाल नागढुंगा नौबिसे सुरुङसहित २३ वटा सडकबाट सडक टोल शुल्क उठाउन सक्ने व्यवस्था गरेको छ । यद्यपि, हाल सबै सडकमा लागू भएको छैन । करिब आधादर्जन सडकमा टोल शुल्क उठाउने तयारी भइरहेको सडक बोर्ड नेपालले जनाएको छ ।


Back_to_top