काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडादर बढाउन माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै तत्काल वैज्ञानिक भाडा समायोजन गर्न वा बढेको मूल्य फिर्ता लिन सरकारसँग माग गरेको हो ।
मध्यपूर्वमा बढेको तनावका कारण देखाउँदै नेपाल आयल निगमले डिजेल र पेट्रोलमा गरेको भारी मूल्यवृद्धिले सार्वजनिक यातायात क्षेत्र धराशायी बन्ने अवस्था आएको महासंघको भनाइ छ ।
महासंघका अनुसार चैत २७ र वैशाख २ मा भएको मूल्यवृद्धिका कारण सार्वजनिक यातायात र मालवाहक सवारी साधन संचालन गर्न निकै कठिन भएको छ ।
२०६५ सालदेखि लागू गरिएको ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा बढीले थपघट हुँदा भाडा पनि सोही अनुरूप समायोजन हुनुपर्ने प्रावधान रहेको भन्दै महासंघले तत्काल भाडा समायोजन गर्न माग गरेको हो ।
‘केही महिनादेखी मध्यपूर्वमा अमेरिका, ईजरायल र इरान बीचको द्वन्दका कारण नेपाल आयल नियमले पटक पटक गरि डिजेल र पेट्रोलमा भारी मूल्य वृद्धि गरेको हुँदा सार्वजनिक यातायात क्षेत्रमा सचालन हुने यात्रुवाहक सवारी साधन र मालवाहक सवारी साधन संचालन गर्न कठिन अवस्था श्रृजना भएको हुदा मिति २०८२।१२।२७ गते र मिति २०८३।१।२ गते भएको मूल्य वृद्धीका आधारमा तत्काल नेपाल सरकारले विगत २०६५ सालदेखी लागू गरेको वैज्ञानिक विधी अनुरुप स्वचालित प्रणालीबाट ५% पेट्रोलियम पदार्थको मूल्य बृद्धी हुदा हुने भाडा जिजाबी फिर्ता लिन जोडदार माग गर्दछौं,’ महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासंघले देशभरका आफ्ना सदस्य संघ, समिति र कम्पनीहरूलाई इन्धन खपत कम गर्न र घाटा न्यूनीकरणका लागि आपसमा सहकार्य गर्न आग्रह गरेको छ । व्यवसायीहरूलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न, सरकारले तोकेको भाडा मात्र लिन र यात्रुको चापका आधारमा सेवा संचालन गर्न समेत निर्देशन दिइएको छ ।
यातायात व्यवस्था विभागले गत चैत २५ गतेदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाएको थियो । त्यसयता निगमले पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेलमा ५५ रुपैयाँ मूल्य बढाइसकेको छ ।

