कुन ब्राण्डको मोटरसाइकल किन्दा कति व्याज ? कम्पनी पिच्छे फरक

काठमाडौं । नेपालमा दुइपाँग्रे सवारीको बजार बढ्दै गएको छ । दुइपाँग्रे सवारीप्रतिको आकर्षणलाई मध्यनजर गर्दै विभिन्न अटो बिक्रेता कम्पनीले आकर्षक फाइनान्स सुविधा दिँदै आएका छन् ।

मोटरसाइकल वा स्कुटर चढ्न चाहने तर रकम अभावका कारण आफ्नो रहर पुरा गर्न नसकेकाहरुलाई यो सुविधाले राहत प्रदान गर्ने गरेको छ । प्रायः अधिकांश मोटरसाइकल बिक्रेता कम्पनीले निश्चित ब्याजदरमा फाइनान्सको सुविधा दिँदै आएका छन् ।

त्यसमा पनि ठूला कम्पनीहरुले आफ्नै इन्भेष्टमेन्ट कम्पनीमार्फत किस्ताबन्दीमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएका छन् ।

नेपालमा हाल हिरो, होन्डा, बजाज, टीभीएस, यामाहा लगायतका कम्पनीले यस्तो सुविधा दिँदै आएका छन् । कस्तो छ त यी फाइनान्स कम्पनीको कर्जा सुविधा ?

बजाज

करिब आठ वर्षअघि बजाज कम्पनीले स्थापित गरेको हुलास इन्भेषमेन्ट प्रालिले बजाजका मोटरसाइकल किन्ने ग्राहकलाई आकर्षक फाइनान्स सुविधा दिँदै आएको छ ।

हुलास इन्भेष्टमेन्टले न्युनतम ३० प्रतिशतदेखि माथिको डाउनपेमेन्टमा सवारी कर्जा उपलब्ध गराउँदै आएको छ ।  अधिकतम तीन वर्षको अवधिसम्म फाइनान्स सुविधा दिँदै आएको यस कम्पनीले मासिक १४ देखि १६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँछ ।

यामाहा

यामाहा कम्पनीले करिब पाँच वर्ष अगाडिदेखि आफ्नै एमएडब्ल्यू इन्भेषमेन्ट प्रालिमार्फत कर्जा दिदै आएको छ । कम्पनीले किस्ताबन्दीमा मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकलाई अधिकतम दुई वर्षे अवधिको लागि फाइनान्स सुविधा प्रदान गर्ने गरेको छ ।

मोटरसाइकल किन्ने ग्राहकले ४० प्रतिशत डाउनपेमेन्ट गरेकोखण्डमा मासिक  १५ प्रतिशत र ५० प्रतिशत डाउनपेमेन्ट गर्दा मासिक १४ प्रतिशत ब्याजदरमा मोटरसाइकल÷स्कुटर खरिद गर्न कर्जा दिइरहेको छ ।

टीभीएस

जगदम्बा इन्भेष्टमेन्ट प्रालिले टीभीएस कम्पनीको मोटरसाइकल तथा स्कुटरका कर्जा लगानी गर्दै आएको छ । तीन वर्ष अगाडि स्थापित भएको यो फाइनान्स कम्पनीले अधिकतम दुइ वर्षे अवधिका लागि अटो कर्जा उपलब्ध गराउँदै आएको छ ।

हाल टीभीएसले न्यूनतम २० प्रतिशत डाउनपेमेन्टमा फाइनान्स सुविधा दिइरहेको छ । टीभीएसले आफ्नो बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकलाई मासिक, १५ देखि १६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

होन्डा

अन्य कम्पनीले जस्तै होन्डाले आफ्नै इन्भेष्टमेन्ट कम्पनी स्याकार ट्रेडिङ मार्फत फाइनान्स सुविधा दिँदै आएको छ । कम्पनीले होन्डाको मोटरसाइकल तथा स्कुटर किस्ताबन्दीमा किन्न चाहनेको लागि वार्षिक ९.९९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले उपलब्ध गराएको व्याजदर बजारमा चलेको अटो लोनको तुलनमा सस्तो रहेको छ । होन्डाको मोटरसाइकल तथा स्कुटर किस्तामा किन्न चाहनेले न्युनतम ३० प्रतिशत अनिवार्य डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

हिरो

हिरोको बाइक तथा स्कुटर खरिद गर्दा कम्पनिले ग्राहकहरुलाई आकर्षक फाइनान्स सुविधा दिदै आएको छ । हिरोको आफ्नै इन्भेष्टमेन्ट कम्पनी नेपाल जनरल मार्केटिङ मार्फत फाइनान्स गर्दै आएको छ ।

हिरोको बाइक खरिद गर्दा ग्राहकहरुले ० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सक्नेछन् जसको ५० प्रतिशत रकम ९ महिनाभित्रमा तिरिसक्नु पर्ने छ । उक्त कर्जाको लागि ग्राहकले १६ प्रतिशत ब्याज तिर्नु पर्ने हुन्छ । ९ महिना पछि बाँकी ५० प्रतिशत रकमको किस्तासहित १६ प्रतिशत ब्याज १५ महिना भित्र तिर्नु पर्नेछ ।

आवश्यक डकुमेन्ट 

प्रायः अधिकांश फाइनान्स कम्पनीले बाइक वा स्कुटर किस्ताबन्दीमा उपलब्ध गराउँदा आवश्यक कागपत्रको माग गर्नेछन् भने विभिन्न सर्तहरु राख्ने गर्छन् ।

यसरी फाइनान्सबाट बाइक वा स्कुटर किन्नेले सम्पूर्ण किस्ता चुक्ता नगरून्जेल बाइक फाइनान्सको नाममा दर्ता हुन्छ । कम्पनीले बाइक किन्न चाहनेको मासिक कमाईको तथ्याङ माग्ने गर्छ ।

ग्राहक १८ वर्षभन्दा माथिको हुनुपर्ने नीति प्रायः सबै फाइनान्स कम्पनीले राखेका छन् । तलबको जानकारी भएको कागजपत्र र आफै चलाउने हो भने ड्राइभिङ लाइसेन्स भएको हुनुपर्ने नीति रहेको छ ।

कसैको जमानीमा बाइक वा स्कुटर खरिद हो भने, सो व्यक्तिको लाइसेन्स अनिवार्य हुनु पर्छ । कम्पनीले ग्राहकको नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइज फोटो, बिजुलीको बिल वा घरको प्रमाण पुर्जाको फोटोकपी लगायतका डकुमेन्ट माग्ने गर्छ ।


Back_to_top