२१ प्रतिशतले घट्यो मोटरसाइकल र स्कुटरको आयात

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा दुई पाङ्ग्रे सवारीसाधनको आयात २१ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७७/२०७८ को तुलनामा ५७ हजार ५२ यूनिटले मोटरसाइकल तथा स्कुटरको आयात घटेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा कुल ३ लाख ५३ हजार ५३४ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएकोमा गत आर्थिक वर्षमा २ लाख ७८ हजार ४८२ यूनिट मात्र आयात भएको हो ।

आयातमा गिरावट आएसँगै गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ६ अर्व ९ करोड ३६ लाख भन्सार विन्दुमा उठ्ने राजश्वसमेत सरकारले गुमाएको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ मा मोटरसाइकल तथा स्कुटरबाट ३३ अर्व ४८ करोड ५० लाख २६ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो भने गत आर्थिक वर्षमा २७ अर्व ३९ करोड ४६ लाख ६६ हजार रुपैयाँ मात्रै संकलन गरेको छ ।

अहिले १५० सीसी माथिका मोटरसाइकल तथा स्कुटरको आयातमा प्रतिवन्ध लगाएको भएपनि पुरानो स्टक मोटरसाइकलको संख्या कम्पनीहरुसँग राम्रै संख्यामा रहेको छ । त्यही कारण कम्पनीहरु तँछाड मछाड गरेर स्कीम संचालन गरिरहेका छन् ।


Back_to_top