करिब २ महिना थन्केका मोटरसाइकल चढ्नुअघि ६ कुरा विचार गरौँ

काठमाडौं । कोभिड १९ (कोरोना) भाइरसको दोस्रो लहरसँगै सुरु भएको निषेधाज्ञा ५२ दिनपछि केही खुकुलो भएको छ । निषेधाज्ञाको नयाँ मोडालिटी सुरु भएसँगै निजी सवारी साधन अब जोर विजोर अनुसार चल्ने छन् ।

यसरी लामो समयसम्म घरमा नै थन्किएर बसेको मोटरसाइकल सडकमा लिएर हिड्नुभन्दा पहिला मोटरसाइकलको राम्रोसँग निरिक्षण गनुपर्ने हुन्छ । यदि मोटरसाइकलमा केही खरावी देखिएमा त्यसको मर्मतसम्भार गर्नुपर्छ ।

लामो समयसम्म संचालनमा नआएका मोटरसाइकल सडकमा लिएर हिड्नुअघि निम्न कुरा राम्रोसँग चेक गरेर मात्र निस्कनु राम्रो हुन्छ । हामिले आफैंले घरमा नै निम्न कुराको परिक्षण गर्न सक्छौं ।

१. इन्जिन आयल

इन्जिन आयललाई सामान्य मानिसले मोवील भनेर चिन्ने गर्छन् । लामो समयसम्म संचालन नभएका मोटरसाइकलको इन्जिन आयल परिर्वतन गरेर चलाउनु राम्रो मानिन्छ । इन्जिन आयल खराव भएको खण्डमा इन्जिनलाई नै असर गर्छ ।

इन्जिन आयल आफैँले सहजै चेक गर्न पनि सकिन्छ । इन्जिन आयलको अबस्था हेरेर चेन्ज गर्नु पर्ने भए सके आफैँले वा नसके वर्कशप लगेर फेर्नु पर्छ ।

२. ब्रेक

मोटरसाइकलको मुख्य सुरक्षा फिचर भनेको ब्रेकिङ सिस्टम नै हो । लामो समयसम्म संचालनमा नआएको मोटरसाइकलको ब्रेक जाम भए नभएको एकिन गर्नु पर्छ । आजकल उपलब्ध मोटरसाइकलमा हुने डिस्क ब्रेक खिया लागेर अझै जाम हुने सम्भावना रहन्छ । यसरी लामो समयसम्म बन्द भएको मोटरसाइकल लिएर निस्कनु अगाडि चेक गर्नु उपयुक्त हुन्छ ।

३. इन्धन

मोटरसाइकल लिएर निस्कनु भन्दा पहिला इन्धनको अबस्था बुझ्न जरुरी हुन्छ । हालको अबस्थामा केही पेट्रोल पम्पहरु संचालनमा आइसकेका छैनन् । यस्तो अबस्थामा आफ्नो मोटरसाइकलमा इन्धनको अबस्था बुझेरमात्र लिएर निस्कनु राम्रो हुन्छ ।

४. थ्रोटल वायर/इन्धन सप्लाई

लामो समयसम्म नचलाइएको मोटरसाइकलमा थ्रोटल वायरले राम्रो रेस्पोन्स नगर्न सक्छ । यस्तो हुँदा इन्जिनमा इन्धनको सप्लाइ राम्रो नहुने हुन्छ । यसले गर्दा मोटरसाइकलले पावर तथा पिकअप नलिने हुन्छ । यसकारण मोटरसाइकल लिएर निस्कुन अगाडि थ्रोटल वायरले राम्रो काम गरे नगरेको हेरेरमात्र निस्कनु पर्छ ।

५. लाइट्स/वायरिङ

यसरी लामो समयसम्म पार्किङ गरेर राख्दा विभिन्न कारणले इलेक्ट्रीक सप्लाइमा समस्या आएको हुन सक्छ । कतिपय अबस्थामा पानी तथा मुसाले तार काट्ने सम्भावना हुन्छ । यस्तो अबस्थमा लामो यात्रामा निस्कदा रातिको समयमा मोटरसाइकल चलाउनु पर्ने अवस्था आयो भने समस्या हुन्छ । त्यस्तै सहरी क्षेत्रमा समेत इन्डिकेटरले काम नगर्दा दुर्घटना हुने सम्भावना हुन्छ । त्यसैले मोटरसाइकल लिएर निस्कदा वायरिङ चेक गर्नु उपयुक्त हुन्छ ।

६. एयर प्रेसर

मोटरसाइकलको टायरमा प्रेसर कम भएको अवस्थामा मोटरसाइकल चलाउँदा कन्ट्रोल गुम्ने खतरा हुन्छ । लामो समयसम्म थन्किएर रहेको मोटरसाइकल चलाउनु अघि एयर प्रेसर चेक गुर्न पर्छ ।


Back_to_top